सोल्मा विपद व्यवस्थापन कोषको मुलधन चार लाख ६१ हजार

सोल्मा विपद व्यवस्थापन कोषको मुलधन चार लाख ६१ हजार

खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा विपद व्यवस्थापन कोषको मुलधन साढे चार लाख नाघेको छ ।

२०७५ सालमा देउसी खेलेर जम्मा भएको ४२ हजार रुपैयाँबाट स्थापना गरिएको कोषको मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो । तीन लाख ५० हजार मुलधन रहेको कोषमा यसपल्ट खेलिएको देउसीबाट एक लाख ११ हजार ३२५ रुपैयाँ रकम थप हुँदा मुलधन चार लाख ६१ हजार ३२५ रुपैयाँ पुगेको हो ।

प्राकृतिक तथा दैवी विपत्तीमा परेका वडाबासीको सहयोगार्थ सोल्मा विपद व्यवस्थापन कोष खडा गरिएको वडाध्यक्ष एबं कोष सञ्चालक समितिका अध्यक्ष ध्रुवविक्रम राईले बताए ।

आगलागी, बाढी पहिरो, चट्याङ, भूकम्प जस्ता प्राकृतिक प्रकोप एबं मुटु, मिर्गौला, क्यान्सर जस्ता दिर्घरोगबाट पिडित भएर समस्यामा परेका स्थानीयलाई कोषमार्फत सहयोग गर्ने गरिएको छ । देउसीको दानबाट सुरु गरिएको कोषलाई बृद्धि गर्दै ५० लाख पुर्‍याएर सो को व्याजबाट प्रकोप पिडितलाई सहयोग गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म प्राकृतिक तथा दैवी विपत्तीमा परेका अशक्तलाई एक लाख ७० हजार सहयोग गरिसकिएको कोष सञ्चालक समितिले जनाएको छ । यसपल्ट एक दिन खेलेको देउसीबाट कोषको मुलधन साढे चार लाख नाघेको हो । आगामी वर्ष दुई दिन देउसी कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता महसुस भएको वडाध्यक्ष एबं सञ्चालक समितिका अध्यक्ष राईले बताए ।

दुबै मिर्गौला फेल भएका स्थानीय राजकुमार राईलाई १० हजार, आगलागी पिडित कर्मबहादुर राईलाई ५ हजार र मिर्गौला रोगी ध्रुवबहिनी राईलाई ३ हजार प्रदान गर्दै विपद व्यवस्थापन कोष स्थापना गरिएको थियो ।

सम्बन्धित खवर