दुर्गापुरीमा सन्थाल मेला भव्य हुने

दुर्गापुरीमा सन्थाल मेला भव्य हुने

उर्लाबारी, परापुर्वकालदेखि लाग्दै आएको सन्थाल मेला यसपटक भव्यरुपमा आयोजना हुने भएको छ । मेलामा सन्थाल जातिका विभिन्न समुहको प्रतियोगितात्मक नृत्य हुने आयोजक समितिले जनाएको छ ।
विजया दशमीका दिन बुधबार उर्लाबारी – ८ स्थित दुर्गापुरीमा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले भव्य समारोहका बीच मेला उद्घाटन गर्ने कार्यतालिका छ । स्थानीय दुर्गा सिद्धेश्वर शिवालय मन्दिर परिसरमा सन्थाल मेलाले बिछट्टै रौनकता थप्ने समितिका संयोजक नारायण बस्नेतले जानकारी दिए । उनले भने,‘ नगरको वडा नम्बर ८ र ९ मा सन्थाल समुदायको सघन बसोबास रहेको छ । सन्थाल जातिको मेला आयोजना गरेर उनिहरुको पहिचान स्थापित गर्ने जमर्को गरेका हौ ।’ सन्थाल समुदायका मानिसहरु मूरली, झ्याम्टा, ढोल लगायतका बाजागाजा बजाउँदै, नाच्दै र गाउँदै मेलामा सहभागि हुनेछन् । स्थानीयस्तरको दसैँमा मेलाको प्रमुख आकर्षण नै सन्थाल नृत्य हुने बताइन्छ ।
धिमाल, राजवंशी, ताजपुरिया जस्तै सन्थाल जाति पनि फरक भेष र फरक संस्कृतिका कारण चिनिन सक्ने जाति मानिन्छ । तर, सधैं अर्काको घर खेतिमा कृषिजन्य काम गरेर जीविकोपार्जन गर्दै आएका अति लोपोन्मुख अवस्थामा पुगेको सन्थाल जाति पहिचान र संस्कृति जोगाउन एक छाक खाएर बाँचिरहेका छन् । सन्थाल नृत्य आफ्नै जातीय भाषा, गाईजात्रे पहिरन, रङ्गीचङ्गी भावभङ्गीमा, रङ्गीन कमिज, पञ्ची, धोती जस्तो कपडा, शिरमा मयूरको प्वाँख र ऐना तथा झुम्काले बनाएको फेटा लगाई, जीउमा कल्ली बाँधेर बाजागाजाको साथ एउटै ताल, सुरमा सामूहिकरूपमा छुट्टाछुट्टै समूहमा प्रस्तुत गरिन्छ । यस नृत्यमा नाच्नेहरू सबै पुरुष सन्थाल हुन्छन, भने उनीहरूलाई आकर्षित गर्न जोस थप्न महिला पनि उत्तिकै सक्रिय हुन्छन् ।
नृत्यको मध्य विन्दुमा महिलाहरूले बेलाबेलामा भुजा फ्याँक्ने गर्दछन भने नाचिरहेका सन्थालहरू आफूलाई बहादुर सावित गर्न बिनाहात जमीनमाथि फ्याँकिएका भुजा हावाबाटै मुखमा हालेर खाने गर्छन् ।

सन्थाल समुदायका मानिसले नृत्यमा मट्टितेल मुखमा हाली आगोको लप्का निकाल्ने, माटोमा टाउको गाड्ने, मान्छेमाथि मान्छे चढ्दै दुई, तीन तहको घेरा बनाई नृत्य गर्ने, सयौं कोर्रा सहने आदि यस जातिको नृत्यका केही डरलाग्दा रोमाञ्चक र आश्चर्यजनक दृश्यहरू देखिन्छन् ।

सम्बन्धित खवर