भारतविरुद्ध इतिहास बनाउने लक्ष्यमा नेपाल

भारतविरुद्ध इतिहास बनाउने लक्ष्यमा नेपाल

काठमाडौं / साफ महिला च्याम्पियसिपअन्तर्गत शुक्रबार दोस्रो सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन् । भारतविरुद्ध मैदान उत्रिँदा नेपाली महिला टिम नयाँ इतिहास कोर्ने लक्ष्यमा हुनेछ ।

चार पटक फाइनल र एक पटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्दा भारतविरुद्ध नेपालले साफ च्याम्पियनसिपमा हालसम्म जित निकाल्न सकेको छैन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल अपराह्न साँढे पाँच बजे सुरु हुनेछ । सेमिफाइनलमा फेरी एकपटक भारत प्रतिद्वन्द्वी पाएको नेपाल २०७३ सालको चौथो साफको इतिहासलाई मेटाउँदै  नयाँ इतिहास रच्न चाहन्छ ।

यस अघि भारत समूह ए को उपविजेता र नेपाल समूह बी को विजेता रुपमा अन्तिम चारमा प्रवेश गरेका थिए ।

यस्तो छ इतिहास

बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो ।

साबित्रा र मन्जली फर्कने सम्भावना
डेंगुको कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन् । बलियो भारतबिरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहदैन । साबित्राले भुटानबिरुद्द ४–० को जितमा एक गोल गरेकी थिइन् । मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन् ।

बंगलादेश र भुटान खेल्दै
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित छ । उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३–० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो ।

सम्बन्धित खवर