डाँस मोरङ्गी सामुदायिक वनको साधारणसभामा जनप्रतिनिधि सम्मानित

डाँस मोरङ्गी सामुदायिक वनको साधारणसभामा जनप्रतिनिधि सम्मानित

पथरी / मोरङको पथरीशनिश्चरे स्थित वडा नं १० मा रहेको डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समितिको २१ औँ बार्षिक साधारण सभाको उद्घाटन भएको छ । शनिवार प्रदेश नं १ का बन वातावरण तथा भु संरक्षणमन्त्री शेखरचन्द्र थापाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा डाँस मोरङगीका ७ वटा टोलीबाट प्रत्येक टोलीका १/१ विपन्न परिवारलाई खाट वितरण गरिएको थियो । साधारणसभाको उद्घाटनमा पथरीशनिश्चरेका निर्वाचिन मेयर,उपमेयर,वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहितका जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं १ का बन बातावरण तथा भु संरक्षणमन्त्री शेखरचन्द्र थापाले नगरक्षेत्रको वनलाई पर्यटनको हब बनाउनु पर्ने बताए । वन क्षेत्रलाई एग्रो टुरिजमको रुपमा उद्योग वा उत्पादनसँग जोडनुपर्ने उनले बताए । जल र जंगल जनताको जिन्दगीसँग जोडिएको भन्दै विश्वमा दैनिक बढ्दै गएको तापक्रम जंगलको संरक्षणले मात्र नियन्त्रणमा राख्न संभव हुने मन्त्री थापाको भनाइ थियो ।

वन क्षेत्रमा अत्याधिक रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा पर्ने गरेको डिभिजन वन कार्यालय मोरङका प्रमुख अनिरुद्र साहले बताए । दुई वर्षमा विराटनगरको उच्च अदालतमा ३ वटा र इटहरी अख्तियारमा मुद्धैमुद्धा पर्ने गरेको प्रमुख साहले बताए । अख्तियारमा परेको मुद्धा अनुसन्धानले हैरान पारेको भन्दै जति मुद्धा परेपनि कानुनमा टेकेर काम गरेको भए केही नहुने साहको भनाइ थियो ।

सामुदायिक वनमा पर्नेगरेको मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वनलाई, डिभिजनले सम्बन्धित क्षेत्रको सब डिभिजनलाई नै अनुसन्धान र प्रतिवेदन तयार गर्न जिम्मा दिने गरेको छ । सोही कारण अख्तियारमा पर्ने गरेको मुद्धा त्यति प्रभावकारी देखिदैन । वन कर्मचारीहरुले मुद्धालाई गहिरो छानविन भन्दा पनि झन्जटको रुपमा लिने गरेको अभिब्यक्तिबाट बुझ्न सकिन्छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ १ नं. प्रदेश समिति सचिव अग्नी पौडेल लगायतले शुभकामना दिएका थिए । डिभिजन वन कार्यालय मोरङका प्रमुख साहाले अर्को प्रसंगमा मोरङको वनमा ३० प्रतिशत मात्र सखुवा रहेको बताए । जिल्लाको वन क्षेत्रमा ७० प्रतिशत कुकाठको वनको रुपमा परिनत भएको बताए ।

उद्घाटन कार्यक्रममा विपन्न तथा जेहेनदार विद्यार्थीलाई छात्रावृति प्रदान गरिएको थियो । साधारण सभाको बन्दसत्र आज (आइतबार) हुने अध्यक्ष मदन पोख्रेलले बताए ।

सम्बन्धित खवर