उर्लाबारीको सूर्य साकोसमा हिनामिना

उर्लाबारीको सूर्य साकोसमा हिनामिना

उर्लाबारी, मोरङको उर्लाबारी–६ मा रहेको सूर्य बचत तथा ऋण सहकारीमा २७ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना भएको पाइएको छ ।

संस्थाका बजार प्रतिनिधि रोजित पौडेललाई सो रकम हिनामिना गरेको आरोप लगाइएपनि सञ्चालक समितिकै मिलोमतोमा रकम हिनामिना भएको आरोप लगाइएको हो । बजार प्रतिनिधि पौडेलले एक्लैले यति ठूलो रकम हिनामिना गर्न सम्भव नरहेको भन्दै छोरा सोझो भएका कारण फसाएको उनका बुवा होमप्रसाद पौडेलको भनाई छ । पौडेलसहित अर्का एक कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले २७ लाखभन्दा बढी रकम हिनामिना गरेको देखिएकाले संस्थाको निर्णय बमोजिम इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी हालेको बताउनुभयो । उहाँले हिनामिनामा जोसुकै संलग्न भएपनि कार्वाहीको भागिदार बन्नु पर्ने बताउनुभयो ।

उपाध्यक्षको नेतृत्वमा घरजग्गा हडप्ने काम भयोः पौडेल

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका रोजितका बुवा होमप्रसाद पौडेलले संस्थाका उपाध्यक्ष नारादमणि नेपालको नेतृत्वमा ११ धुर जग्गासहित घर हड्प्ने काम गरेको आरोप लगाउनुभयो । छोराले हिनामिना गरेको रकम असुल्ने भन्दै उपाध्यक्ष नेपालको जोडबलमा सो जग्गा धर्मप्रसाद भण्डारी र भानुभक्त रिमालको नाममा रजिस्टे«सन पास गरेर हडप्ने काम भएको उहाँको भनाई छ । छोरालाई कानुनी कार्वाही नगर्ने भन्दै जग्गा रजिस्टे«सन पास गरेको तीन दिनभित्रै प्रहरी लगाएर पक्राउ गर्ने काम भएको उहाँले जानकारी दिनुभयो । सहकारीका सञ्चालकले गरेको हिनामिना छोरालाई थोपार्ने काम भएको भन्दै न्यायका लागि सहयोग गरिदिन सम्पूर्ण उर्लाबारी नगरबासीहरुमा अपिल गर्नुभएको छ ।

जग्गाको विषय थाहा छैन ः अध्यक्ष घिमिरे

संस्थाका अध्यक्ष तेजनाथ घिमिरेले जग्गा संस्थाले लिएर हिनामिनाका विषयमा उन्मुक्ति दिने काम नहुने स्पष्ट पार्नुभयो । ‘जग्गा संस्थाले लिएको छैन’ उहाँले भन्नुभयो–‘ जसले जग्गा लिएको छ, उसैले जान्ने कुरा हो ।’ संस्था र शेयर सदस्यको अहित हुने काम नगरेको उहाँले प्रष्ट पार्नुभयो ।

सम्बन्धित खवर