बाँसको पायलिङ गरी कटान रोक्दै वडा

बाँसको पायलिङ गरी कटान रोक्दै वडा

पथरी, झट्ट हेर्दा पत्याउन मुस्किल लाग्ने बाँसको पायलिङ प्रविधिको प्रयोगले खोला कटानलाई रोक्ने गरेको छ । मोरङ पथरीशनिश्चरे आठले डाँस खोलामा पर्ने तीन वटा स्थानमा बाँसको पायलिङ गरेर खोला कटानलाई रोकेको छ ।

सो वडाको २० बिघेका दुई स्थानमा पायलिङ गर्दा १५ बिगाहा जग्गा र १० भन्दा बढि घरलाई जोगाउन सकिएको वडा अध्यक्ष नविनजंग कार्कीले बताउनुभयो । सोही वडाको माझी टोलमा पनि पायलिङ गरिएको छ । माझी टोलमा रहेका १५ घरपरिवार र करिब १० बिगाह जग्गा पायलिङ प्रविधिबाट सुरक्षित गरिएको कार्कीले जानकारी दिनुयो । यो प्रविधिबाट खोला कटानलाई दीर्घकालिन रुपमा रोक्न सम्भव नभएता पनि तत्कालका लागि एकदमै उपयोगी हुने सब इन्जिनियर इन्द्र पराजुलीले बताउनुभयो । दीर्घकालिन समाधान नभएपनि तत्काल खोलाको बहाव परिवर्तन गर्नका लागि निकै उपयोगी हुने पराजुलीको भनाइ छ । एक पटक गरिएको पाइलिङले दुई देखि तीन वर्षसम्म थाम्ने गरेको छ । यसवर्ष तीन वटा स्थानमा पाइलिङका लागि नगरको एक लाख ३७ हजार २९२ र श्रमदान सहित गरी जम्मा एक लाख ५७ हजार २५७ रुपैँया बराबरको पायलिङ गरिएको छ ।

डाँस खोला समयमा नियन्त्रण गर्न नसक्दा यसले ठुलो नोक्सानी गर्दै आएको छ । दुई वर्ष अघि माझि टोलको एक घर बाढिले बगायो भने अहिलो सो क्षेत्र निकै जोखिमपूर्ण रहेको स्थानीय सुवास गौतमले बताउनुभयो । खोला करिब पाँचसय मिटर पूर्व सरेको छ । खोला पूर्व सर्दा करिब ५० बिगाहा खेती योग्य जमिन र तीन वटा घर समेत बगाएको गौतमले बताउनुभयो ।

अघिल्लो आर्थिक वर्षमा कोशी बक्राहा तट्बन्धन परियोजनाले नगरको दक्षिण क्षेत्रमा तार जाली सहितको स्थाइ बाँध निर्माण गरेको छ । सोही निरन्तरताका लागि वडा र नगरले पहल गरिरहेको जनाइएको छ ।

सम्बन्धित खवर