प्याब्सन पथरीशनिश्चरेको लोकनृत्य तथा हिज्जे प्रतियोगिता

प्याब्सन पथरीशनिश्चरेको लोकनृत्य तथा हिज्जे प्रतियोगिता

पथरी, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) पथरीशनिश्चरे मोरङले आयोजना गरेको अन्तर विद्यालय लोकनृत्य छनोट प्रतियोगितामा जुनियरतर्फ न्यु पेगोडा अङ्ग्रेजी आवासीय मावि र सिनियरतर्फ वाल्मीकि मेमोरियल अङ्ग्रेजी आवासीय मावि प्रथम बनेका छन् ।

यस्तै जुनियरतर्फ वाल्मीकि मावि द्वितीय र रेडस्टार अङ्ग्रेजी आवासीय मावि तृतीय हुँदा सिनियरतर्फ एभरेस्ट आवासीय मावि द्वितीय र रेडस्टार मावि नै तृतीय घोषित भए । प्याब्सन नगर कार्यसमितिले स्थानीय अरुणोदय आवासीय माविको प्राङ्गणमा शनिबार आयोजना गरेको प्रतियोगितालाई सम्बोधन गर्दै पथरीशनिश्चरे नगरपालिका नगरप्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि मोहनप्रसाद तुम्बापोले नगरभित्र रहेका शैक्षिक संस्थाले विद्यार्थीको सर्वाङ्गीण विकासमा अहम् भूमिका निर्वाह गरिरहेको बताए ।

प्याब्सन नगर अध्यक्ष सुरेन्द्र लिम्बूको सभाध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन केन्द्रीय सदस्य केदार खनाल, प्याब्सन प्रदेश सहसचिव नोवलकिशोर खनाल, पथरीशनिश्चरे नगर उपसचिव शालिग्राम काफ्ले, शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी, पथरी इलाका प्रहरी कार्यालय प्रमुख वेदप्रसाद गौतम, प्याब्सन जिल्ला अध्यक्ष शीतला सुब्बा, उपाध्यक्ष सुरेन्द्र सुवेदीलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो ।

नेपाली लोकसंस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा थारू, साकेला, झाँगड, गुरुङ, कौडालगायतका विभिन्न जातजातिसम्बद्ध १२ ओटा नृत्य प्रस्तुत भएका थिए । प्रतियोगितामा सफल हुने नृत्य समूहलाई उपेन्द्र कँडेल, राजु तिम्सिना, शालिग्राम काफ्ले, दिनेश पोखरेल, चन्द्रप्रसाद दुलाल, सुरेन्द्र लिम्बू, नोवलकिशोर खनाल, रविन कन्दङ्वा, मोहनप्रसाद तुम्बापोलगायतका अतिथिहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । कुमार अनुरागी र सुमन योगी निर्णायक रहेको उक्त प्रतियोगिताको सञ्चालन प्याब्सन नगर कार्यसमिति सचिव सन्तोष बस्नेतले गरे ।

यसअघि शुक्रबार स्थानीय भूपू सैनिक अङ्ग्रेजी स्कुलको सभाहलमा भएको हिज्जे प्रतियोगितामा आइसल्यान्ड बोर्डिङ स्कुल पहिलो, एभरेस्ट स्कुल दोस्रो, सुपब् मोडल स्कुल तेस्रो, रेडस्टार स्कुल चौथो, प्याराडाइज स्कुल पाँचौँ, न्यु पेगोडा स्कुल र डनबस्को स्कुल छैटौँ स्थान घोषित भए । हिज्जे प्रतियोगितामा सफल विद्यालयले यही भाद्र १५ गते र नृत्य प्रतियोगितामा सफल विद्यालयले १६ गते विराटनगरमा हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने प्याब्सन जिल्ला सदस्य उपेन्द्र कँडेलले जानकारी दिए ।

सम्बन्धित खवर