गुल्मीमा कोरोना संक्रमण तिब्र, ११२ जना सक्रिय संक्रमित

गुल्मीमा कोरोना संक्रमण तिब्र, ११२ जना सक्रिय संक्रमित

तम्घास, गुल्मीमा कोरोना संक्रमण तिब्र रुपमा फैलिन थालेको छ । बुधबार मात्रै गुल्मी जिल्लामा ३३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । बुधबार ७७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कुल सक्रिय संकमितको संख्या ११२ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा सरकारी कार्यालयका प्रमुख, अधिकृतहरुसम्म रहेका छन् । जिल्लामा संक्रमणको दर बढ्दै गएपछि स्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न स्वास्थ्य कार्यालय गुल्मीले अनुरोध गरेको छ । जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थ्य शाखाहरुलाई ज्वरो र रुघाखोकी लागेका बिरामीहरुको एन्टिजेन परीक्षण गर्नका लागि निर्देशन दिएको आचार्यले बताउनुभयो ।

पालिकाहरुमा प्रर्याप्त मात्रामा एन्टिजेनको व्यबस्था गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा पनि प्रर्याप्त मात्रामा एन्टिजेन रहेकाले ढुक्क भएर परीक्षण गर्नका लागि आफूहरुले आग्रह गरेको र केही समस्या भए नजिकको स्वास्थ्य संस्थाहरुमा सम्पर्क गर्न आचार्यले आग्रह गर्नुभयो ।

जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण २८८ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीको तथ्यांकमा उल्लेख छ । यता जिल्लमै रहेको कोराना परीक्षण प्रयोगशाला भने विगत एक वर्षदेखी रकम अभावका कारण बन्द रहेको छ । पहिले जिल्लाका १२ वटै स्थानीय तहहरुले रकमको जोहो गरेर संचालन गरेको प्रयोगशाला बन्द रहेको हो ।

अहिलेकै अवस्थामा परीक्षण प्रयोगशाला संचालनमा ल्याउन सक्ने अवस्था नरहेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो । परीक्षण प्रयोगशाला संचालनमा ल्याउनका लागि बढी रकम आवश्यक पर्ने, जनशक्ति र समय पनि बढी लाग्ने भएकोले परीक्षण प्रयोगशालाको विकल्पमा एन्टिजेन परीक्षण नै उत्तम भएको उहाँले दाबी गर्नुभयो ।

सम्बन्धित खवर