सप्तकोशीको बाँध फुट्यो, बेलकाका २० हजार मानिस प्रभावित

सप्तकोशीको बाँध फुट्यो, बेलकाका २० हजार मानिस प्रभावित

उदयपुर, सप्तकोशीको बाँध फुटेर बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पुको चिलिया बस्ती पस्न थालेको हो ।

नदी बस्तीमा पसेपछि एक हजार बढी घरपरिवारका करिब २० हजार नागरिक प्रभावित हुनसक्ने वेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । उनका अनुसार वेलकाका वडानम्बर १, २, ३, ८ र ९ साथ साथै सुनसरीको बराह क्षेत्र नगरपालिकाका केही वडाहरू प्रभावित हुनेछन् ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ । उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरिरहेका छन्।

सम्बन्धित खवर