व्यावसायीमा निराशा, उडान बढाउने पहल गर्न आग्रह

व्यावसायीमा निराशा, उडान बढाउने पहल गर्न आग्रह

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पर्यटन व्यवसायीमा निराशा छाएको छ । अर्बौं लगानी गरेर होटल खोलेका व्यवसायी पूर्ण क्षमतामा विमानस्थल सञ्चालन नहुँदा निराश देखिएका हुन् ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आवागमन बढ्ने र व्यवसाय फस्टाउने उनीहरूको अपेक्षा थियो । “सातामा तीनवटा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेको छ, त्यसमा पनि यात्रा गर्ने नेपाली मात्रै छन् । यसबाट मात्रै पर्यटन व्यवसायीले फाइदा लिन सकेको अवस्था छैन,” सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष तथा होटल व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले भन्नुभयो ।

दिल्लीबाट नेपाल आउने पर्यटक धेरै हुने भएकाले तत्कालै भैरहवा–दिल्ली उडान सञ्चालनका लागि सरकारले तत्परता देखाउनुपर्ने होटल व्यवसायी श्रेष्ठले बताउनुभयो ।

नेपाल ट्राभल्स एन्ड टुर एसोसिएसन, लुम्बिनी प्रदेशका संयोजक सागर अधिकारीले नेपाल वायुसेवा निगमका २५–३० जना कर्मचारी भैरहवामा रहेकाले तत्काल दिल्ली–भैरहवा उडान सुरु गर्नुपर्ने बताउनुभयो । पर्यटन व्यवसायी सञ्जय बजिमयले धार्मिक पर्यटक भित्र्याउने लक्ष्यले विमानस्थल बनाएकाले पर्यटक तान्ने प्योकज बनाएर निजी क्षेत्रसँग सहकार्य गरिनुपर्ने र क्षेत्रीय उडान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

केही समयअघि भैरहवामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न व्यवसायीलाई आग्रहसमेत गर्नुभएको थियो ।

“सञ्चालनमा आएको विमानस्थलमा थप विमानलाई आकर्षण गर्न छुटदेखि ट्रान्जिट भिसाका लागि पनि मन्त्रालय सचेत छ । लुम्बिनीलाई गन्तव्य बनाएर धेरैभन्दा धेरै पर्यटक भिœयाउने उद्देश्य यस विमानस्थलको हो र सरकार यसबारे गम्भीर छ,” मन्त्री श्रेष्ठले भन्नुभयो ।

सो अवसरमा पर्यटनमन्त्रीसमक्ष लुम्बिनी होटल सङ्घका अध्यक्ष गोविन्द ज्ञवालीले लुम्बिनीमा बढ्दो फोहोरलाई व्यवस्थापन गर्न, निर्माण सम्पन्न भएको कार्गो भवन सञ्चालन गर्न, विमानस्थलको व्यावसायिक टेन्डर छिटो आह्वान गर्न ध्यानाकर्षण गराउनुभयो ।

“विमानस्थल निर्माण सकियो, सञ्चालनमा पनि आयो तर व्यवसायी अझै खुसी छैनन् । अर्बौं लगानीमा पर्यटक सेवाका लागि खोलिएका तारेहोटल सुनसान छन् । अन्य साना होटलको अवस्था नाजुक छ,” उहाँले भन्नुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले रुपन्देहीको पर्यटन प्रवद्र्धन तथा विकासका लागि पर्यटकको सेवा सुविधालाई ध्यानमा राखेर भैरहवा–लुम्बिनी मोनो रेल सञ्चालनका लागि आवश्यक पहल तथा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष न्यौपानेले छिमेकी राष्ट्रका समकक्षीसँग समन्वय गरी चीन, भारत, थाइल्यान्ड, म्यानमार, भुटान, श्रीलङ्कालगायतका बुद्ध धर्म मान्नेको बाहुल्य रहेको राष्ट्रका एयरलाइन्सलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पहल गर्न माग गर्नुभयो । गोरखापत्रबाट

सम्बन्धित खवर