नेपालमै निर्मित धनुष राख्न अयोध्या सहमत

नेपालमै निर्मित धनुष राख्न अयोध्या सहमत

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीका तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थ क्षेत्र सहमत भएको छ।

अयोध्या भ्रमणमा रहनुभएका पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले सहमति जनाएको निधिको सचिवालयले जनाएको छ। रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने वचन दिएको पनि निधिको सचिवालयले जनाएको छ।

अयोध्यामा धनुष राख्न लामो समयदेखि गृहकार्यमा रहेका कांग्रेस नेता निधि र श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री रायसहित शनिबार अयोध्यामा छलफल भएको थियो। छलफलमा जानकी मन्दिरका महन्थ श्री रामतपेश्वर दासलगायत जनकपुरवासी तथा राम मन्दिर ट्रस्टका सदस्य डा। अनिल मिश्रलगायतको सहभागिता रहेको थियो। त्यस अवसरमा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गर्नुभएको थियो। गोरखापत्रबाट

सम्बन्धित खवर