मौरीका लागि कृतिम आहारा वितरण

मौरीका लागि कृतिम आहारा वितरण

उर्लाबारी, मौरी पालक कृषकलाई उर्लाबारी नगरपालिकाले मौरीका लागि कृतिम आहारा उपलब्ध गराएको छ ।

नगरपालिका हातामा मौरी पालक कृषकहरुलाई नगर प्रमुख गंगाप्रसाद खरेलले कृतिम आहारा वितरण गर्नुभएको हो । उहाँले मौरीपालनमा थप व्यवसायीक बन्न र उत्पादन बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो ।

नगरपालिकाको ५० प्रतिशन अनुदानमा चिनी र सातुलगायतका कृतिम आहारा वितरण गरिएको नगरको कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुइटेलले जानकारी दिनुभयो। उर्लाबारीका ८१ जना व्यवसायिक मौरी पालक कृषकका लागि पाँच हजार ३ सय केजी स्वदेशी उत्पादनको चिनी र पाँच सय ८० केजी सातु प्रदान गरिएको हो । कृषि शाखा प्रमुख लुइटेलका अनुसार वर्षायामको समय मौरीका लागि आपतकालीन समय हो ।

पराग र पुष्प रसको अभावमा जीवन नै संकटमा पर्ने भएकाले मौरी पालक कृषकलाई भरथेग गर्नका लागि कुत्रिम आहारा उपलब्ध गराइएको हो । सेरेना जातको मौरीको व्यवसायिक पालन नभएको र मेलिफेरा जातको मौरीलाई आधुनिक घारमै पाल्ने भएकोले कृतिम आहार सेचन गराउन सहज हुनेपनि लुइटेलको भनाई छ । रस पाइने प्रकारका फूल फुल्ने, बाली लगाउने क्रम पनि घटेकाले मौरी पालक किसानले मौरी चरनका लागि सास्ती भोग्नुपरिरहेको मौरी पालक महासंघ मोरङका अध्यक्ष बोधराज खतिवडा बताउनुहुन्छ । उर्लाबारी नगरपालिकाले मौरी पालक कृषकको मर्का बुझेर कार्यक्रम ल्याएकोमा खतिवडाले खुसी प्रकट गर्नुभयो ।

सम्बन्धित खवर