सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका काम अगाडी बढाउन विज्ञ टोली गठन गर्ने भएको छ ।
सोमवार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको बैठकले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विज्ञ टोली गठन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
सोमवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री श्रेष्ठले प्राधिकरणको सञ्चालक समितिको सिफारिस अनुसार मन्त्रालयले विज्ञ टोली गठन गर्ने सम्बन्धी प्रश्ताव मन्त्रीपरिषद्मा लौजाने तयारी गरेको जानकारी दिनुभयो । उहाँले मुलुकको जेम चेन्जर आयोजनाको रुपमा हेरिएको निजगढ विमानस्थल बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सर्वोच्च अदालतको आदेश अनुसार नै विज्ञ समूह गठन गरी पुनः अध्ययन गरिने बताउनु भयो ।
मन्त्री श्रेष्ठले विज्ञ टोलीबाट आएका प्रतिवेदन अनुसार नै अगाडी बढ्ने स्पष्ट पार्दै वातावरणको कुरामा सरकार संवेदनशील रहेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्रीसहित स्थानीय निकायका पदाधिकारीहरुसँगै गरिएको स्थलगत निरीक्षणको क्रममा हाल प्रश्तावित स्थानमै विमानस्थल निर्माण गर्न उपयुक्त हुने देखिएको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले विमानस्थलको प्रश्तावित रन वे र टर्मिनल भवन निर्माण गर्ने ठाउँ खालि मैदान रहेको जिकिर गर्दै विमानस्थल निर्माणका लागि धेरै रुख कटान गर्नुपर्ने अवस्था नहेको बताउनु भयो । उहाँले २०७२ सालको आँकडाका आधारमा मात्रै अहिले बाहिर आएको भन्दै वास्तविकतामा वातावरणको क्षति हुने अवस्था नहरकोसमेत दाबी गर्नुभयो ।