पथरी, देविगञ्जमा साउन १ गतेदेखि शिव पुराणको आयोजना हुदैछ । ११ दिनसम्म चल्ने सो पुराणको तयारी अन्तिम चरणमा पुगेको छ ।
मोरङको पथरीशनिश्चरे २ मा अवस्थित स्वामी निर्विशेषानन्द आध्यात्मिक प्रतिष्ठानको आयोजना हुन लागेको महापुराणको तयारी भव्य रुपमा भइरहेको छ । महायज्ञमा शिवमहापुराणको कथा वाचनसँगै ध्यान, योग साधना, रुद्राभिषेक, महामृत्युञ्जय जप साधना, ज्ञान मञ्च एवं भजन कीर्तन लगायतका कार्यक्रम रहने प्रतिष्ठानका अध्यक्ष नेत्र प्रसाद दाहालले बताउनुभयो ।
प्रतिष्ठानले उक्त कार्यक्रमको आयोजनाबाट प्रतिष्ठानको परिसरमा हरिहर मन्दिर निर्माण, शान्ति स्तुपा निर्माण, औषधीजन्य वनस्पतिको नक्षत्र वाटिका निर्माण तथा जेष्ठ नागरिकहरुप्रति लक्षित गरी नारदनर्वदा स्मृति भवन निर्माणको लक्ष्य रहेको स्वामी निर्विशेषानन्द महाराजले बताउनुभयो ।
स्वामी निर्विशेषानन्दका अनुसार नक्षत्र वाटिका निर्माणका लागि सुन्दर सामुदायिक वन र चौतारी सामुदायिक वनसँग सहकार्यको प्रयास भइरहेको छ । प्रतिष्ठानले समाजबाट लोप हुदै गइरहेको संस्कार, संस्कृति लगायतलाई संरक्षण गर्ने उद्धेश्यले प्रतिष्ठानले विभिन्न गतिविधि गर्दै आएको स्वामी निर्विशेषानन्दको भनाई छ ।
प्रतिष्ठानले आयोजना गर्न लागिरहेको कार्यक्रमले ३० देखी ३५ लाख रुपैँया चन्दा, सहयोगमार्फत संकलन गरी प्रतिष्ठानको लक्ष्य पूरा गर्ने योजना रहेको प्रतिष्ठानले बताएको छ । सो कार्यक्रमका लागि प्रतिष्ठानले सम्पूर्ण धर्मप्रेमी भक्तजनहरुलाई आमन्त्रण समेत गरेको छ ।
श्रवण महिना शिवको महिमा बुझ्ने श्रदालुहरूका लागि विशेष महिना हो । हिन्दु धर्मावलम्वीहरुका लागि पवित्र महिनाको रुपमा हेरिने श्रावण महिनाको अवसरमा प्रत्येक वर्ष शिव पुराणको आयोजना गरिदै आएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठनले यो तेस्रो पटक शिव पुराणको आयोजना गर्न लागेको जनाएको छ ।




