हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा

हलेसी तुवाचुङ पूर्ण खोप सुनिश्चित नगर घोषणा

खोटाङ / दुई वर्षमुनिका सबै बालबालिकाले सबै किसिमका खोपपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकामा रहेका १६ महिनादेखि २३ महिना उमेर समूहका सबै बालबच्चाले सबै खालका खोपको मात्रा पाएको निश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित गर्ने कार्यविधि र निर्देशिका बमोजिमका सम्पूर्ण प्रक्रिया भएको आधारमा ११ वडा रहेको नगरपालिकालाई बुधबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरेका हुन् । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकालाई ५११ जना बालबालिकालाई सबै खोपको मात्रा दिनुपर्ने लक्ष्य दिएकामा ९६ प्रतिशत अर्थात् ४९१ बालबालिकाले सबै किसिमका खोप पाएको निश्चित गरिएको नगरपालिकाका स्वास्थ्य सहसंयोजक प्रकाश घिमिरेले बताए ।

जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफइटिस लगायतका १२ रोगविरुद्धको खोपको मात्रा पूर्णरुपमा पाएको आधारमा हलेसी तुवाचुङ जिल्लाकै पूर्ण खोप सुनिश्चितता पालिका बनेको हो । सामान्यतः १५ महिनामा दादुराको दोस्रो खोप लगाइसकेपछि बच्चाले पूर्ण खोप पाएको मानिन्छ ।

१६ महिनादेखि २३ महिनाका सबै बालबच्चाले सबै किसिमका खोप पाइसकेपछि नगरका हरेक वडा खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चितता वडा बनेको उल्लेख गर्दै नगर स्वास्थ्य शाखा समक्ष सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा नगर खोप समन्वय समितिको ८ असारको बैठकले नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणाका लागि उपयुक्त भएको सिफारिस जिल्ला खोप समन्वय समिति समक्ष गरेको थियो ।

नगर खोप समन्वय समितिको सिफारिसका आधारमा गरिएको ¥याण्डम अनुगमनपछि जिल्ला खोप समन्वय समितिले १२ असारमा पूर्ण खोप सुनिश्चितता घोषणाका लागि पत्र दिएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको सह–संयोजक घिमिरेले बताए । नगरपालिका घर भएका तर हाल बाहिर बसिरहेका बालबच्चाले समेत सबै किसिमका खोप पाएको सुनिश्चित गरिएको मेयर बिमला राईले बताइन् ।

सम्बन्धित खवर