उर्लाबारी ३ का वडाध्यक्षद्धारा मजदुरमाथि कुटपिट

उर्लाबारी ३ का वडाध्यक्षद्धारा मजदुरमाथि कुटपिट

मोरङको उर्लाबारी नगरपालिका वडा नं ३ का वडाध्यक्ष भिस्म राज बुढाथोकीले मजदुरलाई कुटपिट गरेका छन् । वडाध्यक्ष बुढाथोकीले मदन भण्डारी ट्रमा सेन्टरको ओपिडी भवन निर्माणको क्रममा दुई जना मजदुरलाई कुटपिट गरेका हुन् ।

वडाध्यक्ष बुढाथोकीले आफूहरुमाथी सोमबार कुटपिट गरेको झापाको बिर्तामोड नगरपालिका – ६ का २८ वर्षीय मो सहिफु र सोही ठाउँका राजेश खानले बताएका छन् । प्रदेश सरकारको बजेटमा मदन भण्डारी ट्रमा सेन्टरको ओपिडी भवन निर्माण भइरहेको छ । भवन निर्माणमा मजदुर सहिफु र खान काम गर्दै आएका थिए । अनुगमन गर्ने भन्दै वडाध्यक्ष बुढाथोकी सोमबार दिउँसा अस्पताल आएका थिए । ‘अस्पताल आउने बित्तिकै वडाध्यक्षले सिमेन्टको फोटो खिच्नुभयो । त्यसपछि किन पीपीसि सिमेन्ट प्रयोग गरेको भनेर हामीलाई सोध्नुभयो । साहुजीले जस्तो ल्याइदिनुहुन्छ हामीले त त्यही प्रयोग गर्ने हो नि भनेको मात्र थियौँ । वडाध्यक्षले अपशब्द प्रयोग गर्दै मलाइ गालामा एक थप्पड हान्नुभयो,’ राजेशले भने, ‘त्यसपछि दाजु सहिफुले किन भाइलाई गाली गरेको भन्दा । त किन बढी भएको भन्दै दाजुलाई पनि कुटपिट गर्दै भेस्ट च्यातिदिनुभएको छ ।’

वडाध्यक्षसहित अन्य दुई जना युवाहरूलाई ल्याएर कुटपिट गरेको उनीहरूको भनाई छ । वडाध्यक्ष सहित आएका दुई जनासमेतले लात्ती र मुक्का प्रहार गरेको पीडित राजेशले बताए । ‘हामीले सोध्नु नै गल्ती भएछ । त्यसको लागि हामीले माफी पनि मागेका थियौँ । तर, जनताद्वारा निर्वाचित जनप्रतिनिधि हुनुभएको वडाध्यक्षले हामीमाथि अमानवीय हर्कत देखाउनुभयो,’ राजेशले भने ।

यता वडाध्यक्ष बुढाथोकीले भवन निर्माणको क्रममा अनुगमन गर्ने क्रममा सामान्य भनाभन मात्र भएको बताए । ‘भवन निर्माण भइरहेको थियो । मैले कामलाई छिटो र गुणस्तरीय बनाउनु पर्छ भन्दै सम्झाइ बुझाई मात्र गरेको हो,’ वडाध्यक्ष बुढाथोकीले भने, ‘मैले मजदुरहरूलाई कुटपिट गरेको छुइन सामान्य भनाभनमात्र भएको हो ।’

सम्बन्धित खवर