मोरङमा साढे तीन सयभन्दा बढी परिवार विस्थापित, मसुलधारे वर्षाले उद्धारमा कठिनाइ

मोरङमा साढे तीन सयभन्दा बढी परिवार विस्थापित, मसुलधारे वर्षाले उद्धारमा कठिनाइ

मोरङमा बाढी र डुबानका कारण साढे तीन सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । घरघरमा बाढी पसेपछि सर्वसाधारण विस्थापित हुने क्रम बढ्दो छ ।

निरन्तरको वर्षासँगै आज ९बुधबार० बिहानसम्ममा तीन सय सय ६७ परिवार विस्थापित भइसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । विस्थापित परिवारका १३ सय ६८ जनालाई सुरक्षित स्थानमा सारिएको उनले बताए । वर्षा नरोकिएका कारण बाढी तथा डुबानबाट प्रभावित हुनेको सङ्ख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।

विस्थापित भएका परिवारका घर पूर्ण रूपमा डुबानमा परेका छन् । घरहरुमा बाढीले क्षति पुर्याएको छ । विराटनगर महानगरपालिकासहित मोरङका आठवटा स्थानीय तह बाढी र डुबानबाट सबैभन्दा बढी प्रभावित बनेका छन् ।

विराटनगर महानगरपालिका, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी र सुनवर्षी नगरपालिका तथा कानेपोखरी, ग्रामथान बूढीगङ्गा र जहदा गाँउपालिका सबैभन्दा बढी डुबानको चपेटामा परेका छन् । घर डुबानमा परेपछि हालसम्म विराटनगर–७ र ८ का ६३ परिवार विस्थापित बनेको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मुसलधारे वर्षाका कारण विराटनगरभित्रका सयौँ परिवार समस्यामा परिरहेका छन् ।

पानीको उचित निकास नहुँदा प्रदेश १ को राजधानी विराटनगर बर्सेनि डुबानमा पर्ने गरेको छ । पूर्वतर्फ सिङ्घिया र पश्चिमबाट केशलिया खोला बग्ने हुँदा विराटनगर सधैँ जोखिममा पर्ने गरेको हो । खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा छिर्दा सर्वसाधारणको बिचल्ली भएको छ ।

बाढी घरघरमा छिरेपछि सयौँ सर्वसाधारणले वासस्थान छाड्नुपर्ने अवस्था बनेको छ । सिङ्घिया खोलाको बाढीले विराटनगरसँगै सीमा जोडिएको कटहरी गाउँपालिकामा पनि क्षति पुर्याएको छ । विराटनगर र कटहरीका मात्रै लगभग एक हजार पाँच सय बढी परिवार सिङ्घियाको बाढीको मारमा परेका छन् । केसियलाको बाढी ‘ओभरफ्लो’ भएर बस्तीमा छिरेपछि सयौँ सर्वसाधारणले घर छाडेका छन् ।

बाढीका कारण बेलबारी–६ का ८, कटहरी–१ का १ सय ५०, जहाद–१ र २ का १ सय २० र बूढीगंगा–१ का २६ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । अविरल वर्षा नरोकिँदा क्षतिको विवरण यकिन हुन सकिरहेको छैन ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बाढीका कारण व्यक्तिका घर तथा विभिन्न भौतिक संरचना, पुल, सडक, कल्भर्टसमेत क्षतिग्रस्त बनेको बताए । उनले डाँस, बक्राहा, चिसाङ, सिंघिया, केशलिया लगायतका दर्जनौं खोलाले कटान तीव्र बनाउँदा जोखिम झन् बढेको जानकारी दिएका छन् । सबै खोलाहरुमा जलस्तर बढेको छ ।

मङ्गलबार राति केही बेर रोकिए पनि बुधबार बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ । बाढीले विस्थापित बनेका सर्वसाधारण पानी कम भएपछि आआफ्नो घरतिर फर्किए पनि पुनः घर छाडेर सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था आएको दाहालले बताए । उनका अनुसार पानीको वहाव उच्च भएर खोला बस्तीमा छिर्दा सर्वसाधारण प्रभावित बनेका छन् ।

पानीको उचित निकास नहुँदा धेरै ठाउँहरु डुबानमा परेको उनले बताए । बाढी र डुबानका कारण सुकुम्बासी बस्ती सबैभन्दा बढी प्रभावित बनेको प्रजिअ दाहालको भनाइ छ । उनका अनुसार बाढी पीडितहरुको उद्धार र उनीहरुलाई राहत वितरणको कामलाई पनि तीव्र पारिएको छ ।

राहतका लागि गृह मन्त्रालयसँग पनि समन्वय भइरहेको उल्लेख गर्दै उनले बाढी पीडित सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सार्ने कामलाई तीव्र पारिएको बताए । उनका अनुसार विस्थापित परिवारलाई त्रिपाल वितरण गरिएको छ । राहत वितरणको थप प्रक्रिया वडा र सम्बन्धित स्थानीय तहमार्फत अघि बढाइएको छ ।

दाहालका अनुसार मुसलधारे वर्षा जारी रहेका कारण पीडित बनेका सर्वसाधारणको उद्धारमा समेत कठिनाइ भइरहेको छ । बाढीबाट पीडित बनेका सर्वसाधारणको उद्धारमा नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी परिचालित छन् । बाढी र डुबानबाट प्रदेश १ का झापा, मोरङ र सुनसरी सबैभन्दा बढी प्रभावित बनेका छन् । लोकमार्ग तथा भित्री सडकखण्डमा यातायात सञ्चालनमा समस्या भइरहेको छ ।

बाढी तथा डुबानबाट पीडित बनेका सर्वसाधारणको उद्धारमा सशस्त्र प्रहरीका सबै युनिट परिचालित रहेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिए । सशस्त्रसँगै नेपाली सेना र नेपाल प्रहरी पनि उद्धारमा सक्रिय छन् ।

‘आवश्यक सामग्रीसहित बाढी पीडितको उद्धारमा सशस्त्र खटिएको छ । उद्धारका लागि सशस्त्रको अभ्यस्त टोली परिचालित छ,’ डिआइजी गिरीले भने, ‘बाढी र डुबानको असर झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी परेको छ । अन्य सुरक्षा निकायसँग समेत समन्वय गर्दै डुबानमा परेका र जोखिममा रहेका बस्तीका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’

उनले विस्थापित भएका सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजाने, जोखिममा परेका महिला तथा बालबालिकासहितको उद्धार गर्ने, खोला तथा नदीले गरिरहेको कटान नियन्त्रण गर्ने, डुबानमा परेका सर्वसाधारणको घरबाट सामग्री निकालेर सुरक्षित ठाउँसम्म पुर्याइदिनेसमेतका काम सशस्त्र लगायतका सुरक्षा निकायले गरिरहेको बताए । विपद्बाट जोखिममा परेकाहरुलाई उद्धारको आवश्यकता परेमा तत्काल नजिकको सशस्त्र प्रहरी लगायतका सुरक्षा निकायमा खबर गर्न पनि गिरीले आग्रह गरेका छन् ।

‘विपद्ले सबैतिर समस्या निम्त्याएको छ । उद्धारमा सुरक्षा टोली तल्लिन छ । समस्याग्रस्त बनेका कतिपय स्थानमा हाम्रो ध्यान नपुग्न सक्छ,’ उनले भने, ‘समस्यामा पर्नु भएकाहरुले सुरक्षा निकायलाई खबर गर्नु होला । तत्काल उद्धार गरेर सुरक्षित बनाउने छौँ । विपद्का बेला सुरक्षित हुनेतर्फ सबैले ध्यान दिनुपर्छ ।’ डिआइजी गिरीले खोला तथा नदीहरुमा जलस्तर बढ्ने क्रम जारी रहेका कारण सावधानी अपनाएर सुरक्षितसाथ बस्न पनि सबैमा अनुरोध गरेका छन् । कोशी अनलाइनबाट

सम्बन्धित खवर