५० हजार माछा लिलावती खोलामा

५० हजार माछा लिलावती खोलामा

काभ्रेको पनौती नगरपालिका स्थित लिलावती खोलामा ५० हजार माछाको भुरा छोडिएको छ ।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उदेश्यले पनौती नगरपालिका वडा नम्बर १ मानेदोभानदेखी वडा नम्बर २ र ३ हुँदै लिलावती सिंचाई कुलोको बाँधसम्म ५० हजार माछाका भुरा छोडिएको पनौती नगरपालिका कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद समापकोटाले जानकारी दिनुभयो । चितवन र मकवानपुर जिल्लाबाट ल्याइएको राहु, नैनी र असला जातका माछा खोलामा छोडिएको हो । यससँगै अब लिलावती खोलामा फोहोर फाल्न, विषादी प्रयोग गर्न, ढुंगा, गिटी निकाल्न पाइने छैन । यो काम वातावरण संरक्षण, पर्यटन विकास र आर्थिक दृष्टिकोणले समेत महत्वपुर्ण रहेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने बताउनुभयो ।

लिलावती खोलालाई पहिले जस्तो अवस्थामा बगेको थियो सोहि अवस्थामा स्वच्छ बगाउने उदेश्यका साथ कार्यक्रम सुरु गरिएको पनौती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गुणनाथ सापकोटाले बताउनुभयो । पहिले हातले उभाएर खोलाको पानी खाने गरिएकोमा अहिले प्रदुषण बढ्दै गएकाले संरक्षणमा जुटेको उहाँको भनाई थियो ।

माछा संरक्षणका लागि खोलामा बाँध बाँधिएको छ भने त्यसको रेखदेख गर्ने जिम्मेवारी स्थानीय समितिलाई दिइएको छ । माछाबाट आएको आम्दानी पनि समितिले प्राप्त गर्नेछ । सम्बन्धित वडा कार्यालय तथा टोलमा माछा संरक्षणका लागि गठन भएका समुहको अनुमतिबिना माछा समात्न तथा मार्न निषेध गरिएको छ । नियमविपरितका कार्य गरेमा जलचर संरक्षण ऐन २०१७ को दफा ८ अनुसार ६ महिना कैद वा दुवै सजायँ हुने नगरपालिकाले जनाएको छ ।

माछा छोड्ने कार्यक्रममा पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, वरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी, वडा नम्बर २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारी, ३ नम्बर वडा अध्यक्ष किशोर थापा, समाजसेवी एवं एमाले नेता रामचन्द्र सापकोटा, कृषि तथा पशुपक्षीं शाखाका पशु सेवा प्राविधिक लिलानाथ सापकोटा लगायत स्थानियकोे उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर