सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरूद्ध

सुकेटार विमानस्थलमा एक महिनादेखि हवाई उडान अवरूद्ध

रासस
ताप्लेजुङ्ग / ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो।

बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए। पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ।

वर्षा र बादलसँगै प्रतिकूल मौसम कायम रहेकाले उडान निरन्तर अवरुद्ध हुँदै आएको निगमले जनाएको छ। प्रतिकूल मौसमका कारण गत जेठ २ गतेदेखि विमानस्थलमा उडान अवरुद्ध भएको हो। मौसममा सुधार नआएसम्म उडान सम्भव नभएको निगमका स्टेशन इन्चार्ज लिम्बूले बताए।

निगमका अनुसार सुकेटारमा साताको सोमबार, बुधबार र शुक्रबार तीन दिन काठमाडौँ–ताप्लेजुङ नियमित उडान तालिका रहेको छ। तर प्रतिकूल मौसम भएसँगै अहिले उडान अवरुद्ध भएको छ। लामो समयसम्म उडान अवरुद्ध हुँदा प्रत्यक्षरूपमा यात्रुलाई मार परेको छ।

सम्बन्धित खवर