पाँच कृति सार्वजनिकीकरण

पाँच कृति सार्वजनिकीकरण

काभ्रेपलाञ्चोक / तीन साहित्यकारद्वारा लिखित पाँच कृतिको आज काभ्रेपलाञ्चोकको बनेपामा सार्वजनिकीकरण गरिएको छ । ती कृतिको शब्दयात्रा प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रा डा विणा पौड्याललगायत साहित्यकारले संयुक्तरूपमा सार्वजनिकीकरण गर्नुभएको हो ।

कार्यक्रममा लीलादेवी श्रेष्ठको अठोट नाटक सङ्ग्रह र जिन्दगीका डोबहरु भजन सङ्ग्रह, हरि कोर्कालीका जून मामा बालकविता सङ्ग्रह, धृतराष्ट्रको शुभकामना व्यङ्ग्य कविता सङ्ग्रह र लोकमान मास्केको मनमा नअटेका कुरा कविता सङ्ग्रह सार्वजनिक गरिएको हो ।

सो अवसरमा साहित्यकार श्रेष्ठले आफ्ना जीवनका भोगाइलाई जीवन्त तुल्याइएको आभाष आफ्ना सङ्ग्रहमा उल्लेख गरेको बताउनुभयो । यस्तै अर्का लेखक मास्केले आफ्नो मनमा नअटेका कुरा कविता सङ्ग्रहमा पोखेको सुनाउनुभयो । लेखक कोर्कालीले भने जूनबेला धृतराष्ट्र अन्धो भएर बोल्नुपरेको अवस्थामा आफू प्रशासक हुँदाका बखत (हिंसात्मक द्वन्द्वात्मक समय)मा कसरी जनता र प्रशासकको जीवन भोगाइबारेको यथार्थरुप आफ्नो पुस्तकमा उल्लेख गरेको चर्चा गर्नुभयो ।

कोर्कालीले बालबालिकाका लागि अर्को कविता सङ्ग्रह जून मामामा ७५ वटा कविता सङ्ग्रह गरी बालबालिका कसरी सत्य बाटोमा हिँड्नुपर्छ र सन्तोषी बन्नुपर्छ तथा सत्कर्ममा लाग्नुपर्छ भन्ने सन्देशात्मक कविता सङ्ग्रह प्रकाशनमा ल्याउनुभएको हो । कार्यक्रममा महिला तथा बालबालिका अभियान्ता लक्ष्मी पोखरेलले छोरीको भ्रुण हत्या शीर्षकमा कविता प्रस्तुत गर्नुभयो । त्यस्तै लोकगायक मच्छेश्वर सापकोटा र उहाँको पत्नी सरस्वती सापकोटाले मायाप्रितीको पानी घुटुक्कै बोलको युगल गीत प्रस्तुत गर्नुभएको थियो । यस्तै दिलीप श्रेष्ठले मुक्तक वाचन गर्नुभयो ।

कार्यक्रममा प्रा डा पौड्याल र सङ्गीतकार बुलु मुकारुङले साहित्यका विधाबारे आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो । प्रकाशनका संस्थापन अध्यक्ष हरि मञ्जुश्रीले संस्थाद्वारा ११ वर्षको अवधिमा हालसम्म १७९ साहित्यिक पुस्तक प्रकाशनमा ल्याएको तथा विभिन्न क्षेत्रका १७२ व्यक्तित्वलाई सम्मान गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर