रतुवामाई शिक्षक कुटपिट घटना : सल्लाह नमिल्दा हात हालाहाल भयो

रतुवामाई शिक्षक कुटपिट घटना : सल्लाह नमिल्दा हात हालाहाल भयो

भीमराज अधिकारी, पथरी
मोरङको रतुवामाईमा शिक्षक कुटपिटको घटना तातिरहेको छ । घटनाको यथार्थ बुझ्दा सल्लाह नमिल्दा हात हालाहाल भएको बुझिएको छ ।

रतुवामाई ९ मा रहेको जनता माविका प्रधानाध्यापक ईश्वर खनाललाई कुटेको भन्दै यतिवेला सोही वडाको रत्नडिक आधारभूत विद्यालयका शिक्षक सन्तोष घिमिरे इलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा छन् । जेठ २४ गते पक्राउ परेका घिमिरेलाई अभद्र व्यवहारको मुद्धामा म्याद थप गरेर राखिएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

यस्तो थियो घटना विवरण
रतुवामाई ९ मा रहेको जनता माध्यमिक विद्यालयमा नगरको स्वयं सेवक शिक्षकको रुपमा पवित्रा भट्टराईले काम गरिरहेकी थिइन् । भट्टराईले सो पदबाट राजिनामा गरेपछि विद्यालयले शिक्षक आवश्यकताका लागि छलफल सुरु गरेको थियो । तत्कालका लागि शिक्षक आवश्यक भएको तर नगरले तत्काल विज्ञापनका लागि स्वीकृति नदिने भन्दै निजिमा शिक्षक राख्ने सल्लाह भएको र सोही सल्लाह बमोजिम नै पिडक भनिएका घिमिरेकी श्रीमती लिला घिमिरेलाई अध्यापन गराउने मौखिक सल्लाह भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष बौधमान थापाले बताए ।

थापाका अनुसार निजसंग योग्यता पनि भएको, शिक्षक अध्यापन अनुमति पत्र पनि भएकाले लिखित निर्णय नभए पनि मौखिक रुपमा अध्यापन गर्नका लागि कक्षा अवलोकन समेत गरेको र अनुमति दिइएको थियो । सोही क्रममा ३,४ दिनसम्म पनि निज शिक्षिकालाई हाजिर नै गर्न नदिइ जेठ २१ गते शिक्षक आवश्यकताको विज्ञापन प्रकाशन गरेपछि पिडक भनिएका घिमिरेले फोनगर्दा भनाभन भएको थियो । सोही विषयमा छलफल हुनुपर्ने भन्दै दुवैपक्षले वडामा जानकारी गराएपछि संगै बसेर छलफल गरौँ भनेर पार्टि कार्यालयमा बोलाइएको वडा अध्यक्ष इन्द्र चोङ्वाङले बताए । छलफलका क्रममा प्रधानाध्यापक खनालले तथानाम गाली गर्दै मुख छाडेका हुन् । त्यस बखत छलफल सकेर बाहिर निस्किने क्रममा खनालले हात हाल्न खोज्दा घिमिरेले पहिला एक थपड हानेको चोङ्वाङले बताए ।

आफ्नै अगाडी हात हालेपछि हाफैले प्रहरी बोलाएर घिमिरेलाई पठाएको चोङ्वाङको भनाइ छ । तर घिमिरेलाई उक्साएर हात हाल्न बाध्य बनाएपछि घिमिरेले हात छोडेको सो बैठकमा रहेकाहरूले बताएका छन् । यता विद्यालयका प्रअ खनालले भने आफुलाई घिमिरेले फाेनमा धम्की दिएकाे र पार्टि कार्यालयमा बाेलाएर छलफल भएकाे बताए । छलफल सकेर निस्कदा आफुलाई मुक्का प्रहार गरेकाे खनालकाे भनाइ छ । श्रीमतीलाई नियुक्ति नदिएकै झाेँकमा आफुमाथी हातपात भएकाे खनालले दावी गरे ।

माफी माग्दा समेत माफी दिएनन् ः लिला घिमिरे

नगर्नु पर्ने गल्ती भइहाल्यो तर माफी माग्दा समेत माफी नदिएर बिचल्ली बनाएको लिलाले बताइन् । काखमा नानी च्यापेर कहिले इलाका त कहिले स्कुलका प्रअ भेट्न लिला धाइरहेकी छिन् तर प्रअ खनाल सहमती गर्ने छाँटकाँटमा छैनन् । लिलाले स्वयं शिक्षकका लागि खुलेकाे पदमा अध्यापन गराइरहेकी थिइन् ।

लिला भन्छिन ‘‘जेठ १४ गते घरमा काम गरिरहेकी थिँए श्रीमान्ले अचानक स्कुल जानुपर्ने भयो तयारी हुनु भनेर फोन गर्नुभयो । तयारी भएर स्कुलमा पुग्दा शिक्षक चाहिएकाले कक्षा अवलोकनका लागि भनेर बोलाइएको रहेछ । विद्यालयका प्रअ ईश्वर खनाल, शिक्षक सुवास रेग्मी, विद्यालय व्यवस्थापन समिति लगायतलाई कक्षा ५ को नेपाली किताबको पाठ पढाएँ । मेरो कक्षा हेरेपछि भोलीदेखी स्कुल आउनु भन्नुभएको थियो । स्कुल जादैँ गर्दा २१ गते सोही पदका लागि विज्ञापन खुल्यो । यही विषयमा भनाभन भएछ, सरले (श्रीमान सन्ताेष घिमिरे)हात छोड्नु भएछ । विज्ञापन खुलेपछि फारम भर्न जान्छु भन्दा भन्दै यस्तो घटना भयो त्यसपछि फाराम भर्न जान पाइन ।’’

घटनाको प्रकृति हेर्दा पुरै राजनीति भएको अन्य शिक्षकहरूको बुझाइ छ । नाम नबताउने सर्तमा एक शिक्षकले भने सो विद्यालयमा कार्यरत सोनिका गौतमको नियुक्तिका लागि यो सबै भएको हो । गौतम हाल सोही विद्यालयमा निजि श्रोतमा अध्यापन गराइरहेकी छन् । सोही विद्यालयका शिक्षक सुवास रेग्मीकी श्रीमती सोनिकालाई नियुक्तिका लागि भनेर असार पछि मात्रै नगरको अनुमति पाउने भनिएको शिक्षकको विज्ञापनका लागि सुवासले २ दिनमै नगरको अनुमति पत्र लिएर आएको ति शिक्षकको भनाइ छ ।

हाल सो विज्ञापनमा जम्मा ३ जनाको मात्रै आवेदन परेको प्रधानाध्यापक खनालले जानकारी दिए । खनालका अनुसार तिर्थ कुमार राउत, सोनिका गौतम र रमला निरौलाको आवेदन परेको छ । राउत र गौतम सोही विद्यालयका आन्तरिक श्रोतका शिक्षक रहेको बुझिएको छ ।

यसअघि प्रकाशनका क्रममा समाचारमा जेठ १४ हुनुपर्नेमा असार १४ भएकाले गल्ती सच्याइएकाे छ ।

सम्बन्धित खवर