मेयर उपमेयर सम्मानित

मेयर उपमेयर सम्मानित

पथरी, मोरङको पथरी शनिश्चरेका पूर्व नगर प्रमुख दिलीपकुमार राई र पूर्व उप्रमुख यमुना विष्ट वास्तोलालाई उहाँहरुकै मुहारचित्रले आज सम्मानित गरिएको छ ।

‘जीवनका लागि विश्वव्यापी अनुकुल वातावरण’ शिर्षकमा १ नम्बर प्रदेशस्तरीय आइएमइ अन्तर विद्यालय चित्रकला प्रतियोगिता समापनका अवसरमा नगरकै प्रथम नगर प्रमुख राई र प्रथम नगर उपप्रमुख वास्तोलालाई मुहारचित्रबाट सम्मानित गरिएको हो । उहाँहरुले कला साहित्य क्षेत्र प्रवद्र्धनमा सघाउनु भएको कुरालाई मनन् गर्दै सम्मानित गरिएको उल्लेख छ ।

आइएमइ डिजिटल सोलुसनको मुख्य प्रायोजन र पञ्चायत मावि पथरीशनिश्चरेको सहप्रायोजनमा स्थानीय एभरेष्ट आर्ट फ्यूजनले सञ्चालन गरेको प्रतियोगितामा पब्लिक हाइस्कुल धरान सुनसरीका रुपक राई प्रथम हुनुभएको छ । प्रतियोगितामा, इस्ट होराइजन अंग्रेजी विद्यालय मेचीनगर झापाका अभिषेक प्रधान द्वितीय र सोही विद्यालयका सलेस राजवंशी तृतीय वन्नु भएको छ । ब्लू हेभन इजुकेशन फाउण्डेशन् अर्जुनधारा झापाका सजल मगर र पथरीशनिश्चरेस्थित एभरेष्ट बोर्डिङकी सजु ओख्राबुले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ । जसमा, प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद २५ हजार, २० हजार र १५ हजार पुरस्कार तथा सान्त्वनाले पञ्चायत माविमा सञ्चालित फाइन आर्टमा अध्ययनका लागि कक्षा ११ र १२ का लागि ५० प्रतिशत छात्रबृत्ति प्राप्त गरेका छन् । एसइइ परीक्षा दिएर बसेका विद्यार्थीका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले पुरस्कार वितरण गर्दै नगरमा कला साहित्यको प्रवद्र्धनमा नगरपालिकाले साथ सहयोग प्रदान गरिरहने वताउनु भयो । उपप्रमुख देवीमाया काफ्ले, पूर्व नगर प्रमुख दिलीपकुमार राई, पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले पनि कला र साहित्यको प्रवद्र्धन समाज विकासका लागि आवश्यक तत्व भएको जनाउनु भयो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सरोजा खड्गी, यसअघिका प्रतिष्ठानका प्राज्ञ सदस्य पवन राजवंशी, आइएमइका प्रदेश प्रमुख भवानी प्याकुरेल, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी सहितले मन्तव्य व्यक्त गर्नुभयो । एभरेष्ट आर्ट फ्यूजनको पहलमा विगत २ वर्षदेखि पञ्चायत माविमा कक्षा ११ र १२ मा फाइनआर्ट विषय पठनपाठन हुँदै आएको छ । फ्यूजनले सेरामिक पार्कको अवधारणा अघि सारेर सो निर्माणको पहल थालेको छ ।

 

सम्बन्धित खवर