उर्लाबारी, उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले आफूले नगरपालिकाको एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको बताएका छन् । नेकपा एमालेले आफूमाथि अनियमितता र भ्रष्टाचार गरेको भनेर अफवाह फैलाएको उनले बताए । भ्रष्टाचार र अनिमितता रोक्दा ‘सिंह’ उपनाम दिन्छन् भने आफूलाई स्वीकार्य भएको उनले बताए ।
आज उर्लाबारी वडा नं. ८ र ९ को संयुक्त कोणसभालाई सम्बोधन गर्दै फागोले भने, ‘मैले नगरपालिकाको १ रुपैयाँ भ्रष्टाचार गरेको ठहर भए १० वर्ष जेल बस्न तयार छु ।’ तथ्य र प्रमाणविना सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जाल रंगाउनुको कुनै अर्थ नरहेको उनले बताए । विपक्षीहरुले बेरुजुलाई भ्रष्टाचार ग¥यो भनेर भ्रम छर्दै भोट मागेको बताउँदै उनले प्रश्न गरे, ‘यदि मेरो नाममा बेरुजु र भ्रष्टाचार हुन्थ्यो भने मैले उम्मेद्वारी दिन पाउँथे त ?’
मेयर हुँदा आफ्नो ध्यान विकासका कार्यमा गएको बताउँदै उनले आगामी कार्यकालमा नमूना उर्लाबारी बनाउने गरी कार्य गर्ने बताए । उनले उर्लाबारीका विभिन्न स्थानमा आकासे पुल बनाउने योजना अघि सारेका छन् । यस्तै, सुकुम्बासीलाई जहाँ बसेका त्यहीँ जग्गा धनी प्रमाणपुर्जा वितरण गर्नका लागि नेपाल सरकारसँग सम्झौता गरेर ५ हजार २ सय १५ जनाको लगत संकलन भएको र धनीपुर्जा वितरणको तयारीमा रहेको बताए ।
एमालेको घोषणा पत्रमा एउटै कुरा २, ३ ठाउँमा दोहो¥याए जनतामा भ्रम छरेको उनले बताए । भने, ‘उर्लाबारीमा रिङरोड बनाउँछौँ भनेर भ्रम छर्दैछन् । रिङरोडको डिपिआर गरेर प्रक्रिया अघि बढिसक्यो । उनीहरुलाई थाहै छैन ।’
नेकपा एमालेका मेयरका उम्मेद्वार गंगा खरेल झगडा परेको देख्दा चप्पल छोडेर भाग्ने गरेको बताउँदै फागोले त्यस्ता मान्छेले गुण्डागर्दी अन्त्य गर्छु भन्नु हाँस्यास्पद रहेको बताए । प्लटिङ ब्यवसायीले सरकारी जग्गाको संरक्षण गर्छु भन्नु अर्को हास्यास्पद कुरा भएको उनले बताए ।
नेपाली काँग्रेसलाई बहुमतसहित विजय गराएको खण्डमा बिपन्नहरुलाई १० हजार लिटर खानेपानी र २५ युनिटसम्म विद्युत निःशुल्क वितरण गर्ने उनको योजना छ । फागोले आर्थिक अभावमा औषधि उपचार नपाएर बिपन्नले तड्पिनु नपर्ने बताउँदै विपन्नको स्वास्थ्य बिमा गरिदिने बताए । मापदण्ड पुगेका सडकहरुलाई ड्रेनसहितको कालोपत्रे गर्ने, कृषि उत्पादनमा ५० प्रतिशतभन्दा बढी वृद्धि गर्ने योजना रहेको उनले जनाए ।