राप्रपाका मेयर उमेद्वारकाे गाडीमा आगजनी

राप्रपाका मेयर उमेद्वारकाे गाडीमा आगजनी

मोरङको बेलबारीमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ ।
बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।

एक जना पक्राउ

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

अनलाइन खबरबाट

सम्बन्धित खवर