शैक्षिक दृष्टिकोणमा पथरीशनिश्चरे–४

शैक्षिक दृष्टिकोणमा पथरीशनिश्चरे–४

केशव निरौला, पथरी

पथरीशनिश्चरे नगरपालिका (मोरङ)को वडा नं. ४ शैक्षिक दृष्टिकोणमा एउटा राम्रो आकर्षणको केन्द्र हुने सम्भावना बोकेको वडा हो । यहाँ रहेका विभिन्न शैक्षिक सङ्घसंस्थाहरूले वडालाई नै ‘शैक्षिक हब’ बनाउने गरी आक्रामक रूपमा गतिविधि अगाडि बढाइरहेका छन् । यस वडाभित्र रहेका ४ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालयले नै गुणस्तरीय शिक्षा प्रदान गरेर विद्यार्थी आकर्षण गर्ने मात्र होइन, उच्च शिक्षाका लागि प्रमुख आधारस्तम्भको कामसमेत गरेका छन् । यहाँको शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले समेत सक्दो सहयोग गरेको पाइन्छ । सामुदायिक विद्यालयको सर्वाङ्गीण पक्षको विकास र संस्थागत विद्यालयको नीतिगत एवम् सामाजिक सद्भाव बढाउनमा स्थानीय सरकारको हैसियतमा वडाले सक्दो सहयोग गरेको बताउनुहुन्छ– वडाध्यक्ष गोविन्दबहादुर भण्डारी । वडाध्यक्ष भण्डारीका अनुसार वडासँगै नगर, प्रदेश र केन्द्र सरकारसम्मले सामुदायिक विद्यालयको सर्वाङ्गीण पक्षमा सहयोग गरी शैक्षिक उन्नयनको काम भइरहेको छ भने संस्थागत र सामुदायिक विद्यालय आफैँमा पूरकको रूपमा सहकार्य गर्दै अगाडि बढिरहेका छन् ।

वडाले विभिन्न समयमा सामुदायिक र संस्थागत विद्यालयलाई समन्वय गरी एकीकृत गतिविधि अघि बढाउँदा अभिभावक, शिक्षक, विद्यार्थी र सम्पूर्ण सरोकारवाला स्थानीयवासीले यहाँका सबै शैक्षिक संस्थालाई उत्तिकै माया गरेको बताउनुहुन्छ– एनप्याब्सनका नगर अध्यक्ष एवम् ब्राइट सनराइज स्कुलका संस्थापक प्रिन्सिपल थिरप्रसाद आचार्य । प्रिन्सिपल आचार्यको भनाइमा संस्थागत विद्यालयको श्रीवृद्धिमा राज्यले स्पष्ट नीति नबनाए पनि यस वडा र नगरपालिकाले भने संस्थागत विद्यालयको समेत हितलाई ध्यानमा राखेर नीतिगत व्यवस्था गरी समन्वयकारी भूमिका निर्वाह गर्ने गरेको छ ।

४ नम्बर वडाभित्र रहेका ९ ओटै विद्यालय, अन्य शिक्षासम्बद्ध सङ्घसंस्था, स्थानीय सरकार (वडा) र समुदायको उत्तरदायित्व अनि शिक्षाप्रेमीले खेलेको शैक्षिक विकाससम्बद्ध भूमिकालाई यसरी प्रस्तुत गर्न सकिन्छ ः

(१) सामुदायिक विद्यालय
यस वडामा रहेका ४ ओटै सामुदायिक विद्यालयले विद्यार्थी आकर्षणका लागि गरेका पछिल्ला गतिविधिहरू ः

(क) भागीरथ माध्यमिक विद्यालय
शनिश्चरे बजारको पूर्वी भेगमा रहेको भागीरथ मावि वडा नं. ४ को अग्रणी शैक्षिक संस्था हो । प्राविधिक धारतर्फ ३ बर्से बालीविज्ञानको कार्यक्रमसमेत सुरु गरिएको यस विद्यालयमा बालकक्षादेखि कक्षा १२ सम्मै कुल ६ सय ५० विद्यार्थी अध्ययनरत छन् । सिटिईभिटीअन्तर्गत सञ्चालित बालीविज्ञान कार्यक्रम नगरकै पहिलो र एकमात्र कृषिसम्बद्ध पढाइ हुने कार्यक्रम हो । विद्यालयकी प्रधानाध्यापक जानुका चेम्जोङका अनुसार यस विद्यालयले नगरपालिकाको सहयोगमा घुम्ती कोष खडा गरी नगरपालिकाभित्रका गरिब तथा जेहेनदार विद्यार्थीलाई सहुलियत ऋण उपलब्ध गराई प्राविधिक धारतर्फ यही कार्यक्रममा विद्यार्थीलाई आकर्षण गर्ने प्रयत्न गरिरहेको छ । यस्तै कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्दै आएको विद्यालयले साधारण धारतर्फ शिक्षा र वाणिज्य समूहका ऐच्छिक विषय छनोट गरी कक्षा १२ सम्मकै शिक्षा प्रदान गर्दै छ । २०३५ सालका स्थापित यस विद्यालयले दीर्घकालीन योजनाअन्तर्गत कक्षा ११–१२ मा विज्ञान समूहका विषय पढाउने उद्देश्य राखेको छ भने अहिले अङ्ग्रेजी माध्यमका कक्षा थप गर्दै गुणस्तरीय शैक्षिक विकास र भौतिक पूर्वाधारको विकासलाई पहिलो प्राथमिकता दिएको छ ।

(ख) सरस्वती आधारभूत विद्यालय
२०४१ सालमा सिरिसे डाँडामा स्थापित यस विद्यालयमा हाल कुल २९४ जना विद्यार्थी अध्ययनरत छन् । बालकक्षादेखि नै अङ्ग्रेजी माध्यमबाट विद्यार्थी आकर्षण गरिरहेको यस विद्यालयले अहिले सोही माध्यममा कक्षा ५ र अन्य कक्षामा नेपाली माध्यमबाट पठनपाठन गर्दै छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद न्यौपानेका अनुसार भौतिक उन्नतिमा विद्यालय कमजोर भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा पछाडि परेको छैन । वडाले नियमित दिने शैक्षिक सुधारअन्तर्गतको अनुदान रकमले अङ्ग्रेजी माध्यमको पठनपाठन गर्न सम्भव भएको भनाइ प्रअ न्यौपानेको छ । भर्नादर वृद्धि गरी अझ शैक्षिक सुधारका साथ अघि बढ्दै एउटा नमुना शैक्षिक संस्था बन्ने लक्ष्य लिएको यस विद्यालयले ।

(ग) जनकल्याण आधारभूत विद्यालय
२०४२ सालमा जरायोटोलमा स्थापित यस विद्यालयमा हाल २ सय ३ जना विद्यार्थी अध्ययनरत छन् भने निजी स्रोतका ४ सहित १५ जना शिक्षककर्मचारी कार्यरत छन् । मजबुत घेराबारा भएर अङ्ग्रेजी माध्यमबाट निरन्तर कक्षा थप गर्दै पठनपाठनलाई सुदृढ गर्न सफल यस विद्यालयमा पनि विद्यार्थी आउने क्रम बर्सेनि बढ्दै छ । वडाले विनियोजन गरेको नियमित शैक्षिक अनुदानलाई निजी स्रोतका शिक्षकलाई दह्रो आधार ठानेको यस विद्यालयले पनि भौतिक पक्षमा खासै प्रगति गर्न सकेको छैन । विद्यालयका प्रधानाध्यापक आनन्दप्रसाद घिमिरेका अनुसार आधुनिक भवन, फर्निचर र स्वच्छ खानेपानीको समुचित व्यवस्थापन गर्न नसकिए पनि अङ्ग्रेजी माध्यमबाट लगनशीलताका साथ गुणस्तरीय शिक्षा पस्कनमा विद्यालय कहिल्यै पनि पछि सरेको छैन ।

(घ) सिद्धार्थ आधारभूत विद्यालय
२०५१ सालमा पीपल डाँडामा स्थापित यो विद्यालयले पनि पछिल्लो समयमा विद्यार्थीलाई आकर्षित गर्नका लागि विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । वडाकै कान्छो सामुदायिक विद्यालय ठानिने यस विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रप्रसाद अधिकारीले पनि वडाले आवश्यकताअनुसार शैक्षिक सुधारका लागि राम्रो सहयोग गरेका कारण विद्यार्थी सङ्ख्या बढाउन निकै सहज बनेको बताउनुभयो ।

(२) संस्थागत विद्यालय
यस वडामा रहेका ५ ओटै संस्थागत विद्यालयले विद्यार्थी आकर्षणका लागि गरेका पछिल्ला गतिविधिहरू ः

(क) बालजागरण विद्या मन्दिर
२०५६ सालमा सोमबारे बजारको पूर्वोत्तर क्षेत्रमा स्थापित यस विद्यालयमा अहिले नर्सरीदेखि कक्षा १० सम्म कुल ३ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् । प्रिन्सिपल नरबहादुर (एन.बी.) कार्कीका अनुसार वडा नं. ४ को शैक्षिक उन्नयनमा यस विद्यालयले पनि राम्रो भूमिका निर्वाह गरेको छ । विद्यार्थीलक्षित क्रियाकलापलाई बढी जोड दिएको यस विद्यालयले विद्यार्थीलाई बढीभन्दा बढी सिर्जनशील बनाउने उद्देश्य राखेको छ ।

(ख) ब्राइट सनराइज स्कुल
साविक सनराइज स्कुल २०७२ सालमा परिवर्तन भई कुशल चौकमा स्थापना भएको ब्राइट सनराइज स्कुलमा नर्सरीदेखि कक्षा १० सम्ममा ४ सय ८ जना विद्यार्थी अध्ययनरत छन् । बर्सेनि कक्षा बढ्दै जाँदा लिइने गरिएको भर्ना शुल्क पूर्ण मिनाहा गरेको यस विद्यालयले विद्यार्थी आकर्षणका लागि न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षासँगै निःशुल्क कोचिङ कक्षा पनि चलाएको बताउनुहुन्छ– प्रिन्सिपल थिरप्रसाद आचार्य ।

(ग) सुपब् मोडल इङ्लिस स्कुल
२०५९ सालमा कीर्तिपुर बजारको पश्चिमी क्षेत्रमा स्थापित आधारभूत तहको यस विद्यालयमा हाल ३ सयको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन् । भौतिक उन्नतिसँगै शैक्षिक उन्नयन गर्न सकिन्छ भन्ने विश्वास लिएको यस विद्यालयले बढीभन्दा बढी सेवासुविधा दिएर विद्यार्थीको मन जित्न सफल भइरहेको छ । अहिले सञ्चालनमा रहेका कक्षालाई नै अझ बढी व्यवस्थित गर्दै अघि बढ्ने लक्ष्य लिएको बताउनुहुन्छ– विद्यालयका संस्थापक प्रिन्सिपल सन्तोष बस्नेत ।

(घ) ग्रेटग्रेस इङ्लिस एकेडेमी
२०६३ सालमा शान्तिचौकमा स्थापना भएको यस विद्यालयमा अहिले २ सय २० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा नर्सरीदेखि ६ सम्म पढाइ हुँदै आएको यस विद्यालयले शान्तिचौक, सम्झनाचौक, सोमबारे, मङ्गलबारेजस्ता जरायोटोलका अधिकांश क्षेत्र र सो आसपासमा राम्रो सेवाक्षेत्र विस्तार गरेको प्रिन्सिपल गीता श्रेष्ठ बताउनुहुन्छ ।

(ङ) कीर्तिपुर एकेडेमी
कीर्तिपुर बजारको उत्तरी क्षेत्रमा रहेको यो विद्यालय २०६८ सालमा स्थापना भएको हो । प्रिन्सिपल पुकार राईका अनुसार नर्सरीदेखि कक्षा ७ सम्म पढाइ हुँदै आएको यस विद्यालयमा ३ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयले विद्यार्थी र अभिभावकको चाहनाअनुसार अब कक्षा ८ समेत थप गरी पठनपाठन सुरु गर्ने योजना बनाएको छ ।

३. शैक्षिक उन्नयनमा वडाको भूमिका
नगरपालिकाको घरधुरी सर्वेक्षण २०७५, अनुसार विदेशमा रहनेसहित कुल ८ हजार ९ सय ९६ जना बसोबास गर्ने वडा नं. ४ मा रहेका ९ ओटै विद्यालयको उन्नयनमा विशेष भूमिका निर्वाह गरेको छ । उसले सामुदायिक र संस्थागत विद्यालयलाई पूरक ठानेर एकीकृत कार्यक्रम सञ्चालन गर्दै वडाको शैक्षिक विकासमा सबै शैक्षिक संस्थाको अहम् भूमिका रहने अवस्था सिर्जना गर्ने काम गरेको छ । सामुदायिक विद्यालयका जीर्ण भवनको मर्मत, नयाँ भवन निर्माणका लागि पहल, विभिन्न विद्यालयमा शुद्ध खानेपानीको व्यवस्थापन, खेलमैदानसहित घेराबारामा सहयोग, अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्नमा आवश्यक शिक्षक व्यवस्थापन, वडाभित्रका विभिन्न क्लबलाई शैक्षिक उन्नयनकेन्द्रित कार्यक्रम गर्न प्रोत्साहन, विपन्न वर्गलक्षित सीपमूलक तालिमको व्यवस्थाजस्ता कार्यमा वडा कार्यालयले सकेसम्म सहयोग गर्दै आएको छ । यसरी वडाको शैक्षिक उन्नयनमा सर्वाङ्गीण विकासको लक्ष्य लिएर कार्य गरिरहेको बताउनुहुन्छ– वडाध्यक्ष गोविन्दबहादुर भण्डारी । यसरी नै सम्पूर्ण वडावासीको निरन्तर सहयोग, शिक्षक, विद्यार्थी र अभिभावकको न्यानो माया रहिरहँदा यस वडालाई अझ एउटा शैक्षिक आकर्षणको प्रमुख केन्द्रको रूपमा विकास गर्ने सोच विकास भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

४. वडाको प्रमुख सान
यस वडाको प्रमुख शैक्षिक संस्था र यही वडाको स्थायी वासिन्दाले शिक्षासम्बद्ध क्षेत्रमा गरेको उच्च प्रगतिलाई ‘वडाको प्रमुख सान’ भनेर बुझ्न सकिन्छ । समग्र विद्यालयहरूमा सबैभन्दा ठूलो (धेरै विद्यार्थी भएको) र पुरानो संस्थाको रूपमा भागीरथ मावि रहेको छ । यहाँ प्राविधिक धारसमेत सञ्चालित छ । व्यक्तित्वतर्फ जनकल्याण आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक दिननाथ (डि.एन.) तिम्सिना नेपाल शिक्षक महासङ्घका केन्द्रीय उपमहासचिब बन्नुभएको छ । यस्तै यही वडाका स्थायी वासिन्दा लेखप्रसाद निरौला, मदन न्यौपाने, गुरुप्रकाश न्यौपाने आदिले अनुसन्धानको उच्च तह मानिने विद्यावारिधि (पिएच.डी) पूरा गर्नुभएको छ ।

५. शैक्षिक उन्नयनका बाधा र अन्य सम्भावना
वडा नं ४ को शैक्षिक उन्नयन गर्नका लागि वैकल्पिक रूपमा दुई ओटा प्रक्रिया अवलम्बन गर्न सकिने सो क्षेत्रका धेरैजसो जानकारहरूले सुझाउने गरेका छन् । वडा नं. ४ का शिक्षाप्रेमी एवम् पथरी बहुमुखी क्याम्पसका प्रमुख चेतन (चेतनाथ) पौडेलले अबको शैक्षिक उन्नयनको प्रमुख आधार प्राविधिक एवम् व्यावसायिक शिक्षामा जोड दिएर गर्न सकिने बताउनु हुन्छ । यसका लागि भौतिक पूर्वाधारको विकास पनि पहिलो सर्त हो । वडामा वाचनालय सहितको सार्वजनिक ई–पुस्तकालयको अभाव रहेकामा सोको व्यवस्थापन आवश्यक छ । यस्तै अनौपचारिक र अनियमित शिक्षाको प्रभावकारिता अझ बढाउन सके यो वडा शैक्षिक दृष्टिकोणबाट नमुना बन्ने धेरैजसो बुद्धिजीवी एवम् शिक्षाप्रेमीहरूको भनाइ छ । वडावासी युवा समाजसेवी लोककिरण न्यौपानेका अनुसार यहाँ पुस्तकालय र वाचनालयसँगै उच्च शिक्षा प्रदायक संस्था (क्याम्पस) स्थापनाका लागि पनि पहल कदमी बढाउन सकिन्छ ।

सम्बन्धित खवर