कांग्रेसी मेयर फागोले गरे गाडी फिर्ता, उपमेयरले लगाएका सबै आरोप मिथ्या

कांग्रेसी मेयर फागोले गरे गाडी फिर्ता, उपमेयरले लगाएका सबै आरोप मिथ्या

उर्लाबारी, उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोले सरकारी गाडी फिर्ता गरेका छन् ।

शनिबार उर्लाबारी पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी आफूले चढ्दै आएको को १ झ ५७० नम्बरको गाडी नगरपालिकालाई फिर्ता गरेको जानकारी दिए । चुनाव आउन लागेर भन्दा पनि कार्यपालिका बैठकबाट विकास योजना अघि बढाउन नसकेकोले नैतिक रुपमा अपठ्यारो परेको भन्दै गाडी फिर्ता गरेको उनले बताए ।

गत चैत १६ गते उर्लाबारी नगरपालिका कार्यपालिकाको बैठक बसेपनि बैठकमा प्रस्तुत भएका प्रस्ताव अघि बढाउन नेकपा एमालेबाट निर्वाचित उपमेयर लक्ष्मीदेवी भण्डारी सहित बहुमत प्राप्त कार्यपालिका सदस्यहरु नमानेपछि निणर्य हुन सकेन ।

‘विभिन्न कार्यविधि निर्माणका साथै प्रत्येक वडामा तीस लाखका दरले सडक कालोपत्रे साथै अन्य विविध गरी ६ करोड ३७ लाखको सञ्चित कोषको बजेटबाट विकासलाई अघि बढाउन खोजेका थियौं’ मेयर फागोले भने, ‘कार्यपालिकामा बहुमत रहेका नेकपा एमालेका साथीहरुले निणर्य गर्न नदिएपछि विकास रोकिएको छ । यस्तो अवस्थामा सरकारी गाडी चढेर हिँड्नु उपयुक्त नहुने ठानेर गाडी फिर्ता गरेको हुँ ।’

उनले काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरुलाई पनि मोटरसाइकल फिर्ता गर्न आग्रह गरे । एमालेको अवरोधका कारण जनताको काम गर्न नसकेकोमा दुःख व्यक्त गर्दै फागोले चैत महिनादेखि आफूले सेवा सुविधा नलिने बताए ।

उपप्रमुख लक्ष्मीदेवी भण्डारीले आफूमाथि मिथ्या आरोप लगाएको बताउँदै उनले उक्त अरोपको खण्डन गरे । जनप्रतिनिधि आएपछि २५ कार्यविधि, १८ वटा ऐन, ६ वटा नियमावली, ४ वटा निर्देशिका र १ वटा आचारसंहिता बनाएको बताउँदै उनले थप कार्यविधि बनाउन खोज्दा एमालेका जनप्रतिनिधिले रोकेको बताए ।

यस्तै, नगरपालिकाको खर्चमा मेयरले मुद्दा लडेको भन्ने उपप्रमुखको आरोपको विषयमा फागोले भने, ‘पाँच वर्षको कार्यकालमा ३६ वटा मुद्दा परेको छ । प्रायः मुद्दामा नगरपालिका प्रतिवादी छ । केहीमा वडाध्यक्ष प्रतिवादी छन् । ती सबै मुद्दा लड्दा नगरपालिकाको कोषबाट १ लाख ७० हजार रुपैयाँ खर्च भएको छ ।’

उपप्रमुखसहित बहुमत कार्यपालिका सदस्यले अन्तिम कार्यपालिका बैठकले पास गर्ने ऐन, कार्यविधि, विकास निर्माणका काम चुनाव प्रभावित हुने भन्दै रोकेपनि बजेट र कार्यविधि उर्लाबारीवासीको हितमा भएको र चुनाव आउने बेलामा विकास गतिविधि गर्न हुन्न भन्ने नरहेको उनले बताए । कार्यपालिका बैठक बस्न नसक्दा प्रदेश समपुरक कोषबाट ०७९।०८० मा आउने तीन करोड समपुरक अनुदान अब नआउने भएको उनले बताए ।

अर्को प्रसंगमा मेयर फागोले पाँच वर्षअघि निर्वाचनताका आफूले व्यक्त गरेका ९१ बुँदे प्रतिवद्धतामध्ये ५४ वटा पुरा भएको बताए । यस्तै, आफ्ना प्रतिवद्धतामा उल्लेख नभएको उज्यालो उर्लाबारी सुरक्षित उर्लाबारी अभियान अन्र्तगत उर्लाबारीको पुर्वपश्चिम राजमार्गमा र अन्य शाखा सडकहरु सडक बत्ति जडान सहित अन्य विकास निर्माणको कार्यपनि भएको उनले बताए ।

सम्बन्धित खवर