पथरी बहुमुखी क्याम्पसमा राम कुमार बस्नेत बिजयी, गठबन्धन फिन्ताङ

पथरी बहुमुखी क्याम्पसमा राम कुमार बस्नेत बिजयी, गठबन्धन फिन्ताङ

पथरी, मोरङको पथरी शनिश्चरे १ मा रहेको पथरी बहुमुखी क्याम्पसको परिषद अध्यक्षमा राम कुमार बस्नेत बिजयी भएका छन् ।

शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम घोषणा गर्दै निर्वाचन अधिकृत अर्जुन कुमार बुढाथोकीले एमालेका तर्फबाट प्रगतिशिल समुहका बस्नेत बिजयी भएको घोषणा गरेका हुन् । निर्वाचित अध्यक्ष बस्नेतले ३८ मतान्तर सहित १५२ मत ल्याएर विजयी बनेका हुन् । गठबन्धनका तर्फबाट उमेद्वार बनेका दिपक बस्नेतले ११४ मत प्राप्त गरे ।

उपाध्यक्षमा प्रगतिशिल समुहका नोबल किशोर खनाललाई ३४ मतान्तरले पछि पार्दै गठबन्धनका माधव प्रसाद कोइराला बिजयी भए । कोइरालाले १४४ मत प्राप्त गरे भने खनालले ११४ मत ल्याएका हुन् ।

सदस्य पदमा उद्वराज बस्नेत १६३ मत, उमानाथ अधिकारी १५६ मत, एकराज निरौला १३१ मत, कर्ण बहादुर विश्वकर्मा १३३ मत, खगेन्द्र प्रसाद लुइटेल १३९ मत, तेज बहादुर बुढाथोकी १५४ मत, प्रदिप कुमार राई १४७ मत र बिजयजंग बस्नेतले १३२ मत ल्याएर बिजयी भए ।

यस्तै महिला सदस्यहरुमा अरुणा राई १२९ मत, दुर्गा सुवेदी दंगाल १४७, पार्वती भण्डारी १५१ र वर्षा सुब्बा १२९ सहित बिजयी भए ।

लेखा सदस्यहरुमा कमल बहादुर भट्टराई १९१ मत र दुर्गा प्रसाद सिटौलाले १५४ मत ल्याएर बिजयी भए । लेखा संयोजकमा एउटा मात्रै उमेद्वारी परेपछि डिल्लीराज दाहाल हिजो नै निर्वाचित भएका छन् ।

निर्वाचित पदाधीकारीहरुलाई आज नै निर्वाचित भएको प्रमाण पत्र समेत प्रदान गरिएको छ । पथरी शनिश्चरे नगर उप प्रमुख यमुना विष्ट र निर्वाचन अधिकृत अर्जुन कुमार बुढाथोकीले प्रमाण पत्र प्रदान गरेका हुन् । अध्यक्षमा निर्वाचित बस्नेतले यस क्षेत्रको उत्कृष्ट क्याम्पस बनाउनका लागि निरन्तर लागिरहने प्रतिवद्धता गरेका छन् ।

८ जना खुल्ला सदस्यमा १ जना विजयजंग बस्नेत मात्रै गठबन्धनका तर्फबाट निर्वाचित भएका छन् । ७ जना खुल्ला सदस्य र ४ जना महिला सदस्य प्रगतिशिल समुहले जित निकालेको छ । लेखा समितिमा ३ जना नै प्रगतिशिल समुहका रहेका छन् ।

यसरी हेर्दा पथरी बहुमुखीको निर्वाचनमा गठबन्धन कमजोर देखिएको छ । गठबन्धनमा पनि खासगरि नेकपा समाजवादीलाई जसरी पनि पाखा लगाउने रणनीतिमा उत्रिएको एमालेले अधिकांश पदमा आफ्ना उमेद्वारलाई जिताउन सफल भएको छ । पथरी बहुमुखीमा स्थापना कालदेखि नै एमालेले नेतृत्व गर्दै आएको छ ।

सम्बन्धित खवर