ट्राफिक व्यवस्थापनमा एकरुपता ल्याइने

ट्राफिक व्यवस्थापनमा एकरुपता ल्याइने

प्रदेश नं १ का यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेशभरि ट्राफिक व्यवस्थापनमा एकरुपता ल्याइने बताउनुभएको छ ।जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित ‘ट्राफिक व्यवस्थापन’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै यातायातसँग जोडिएका विषयमा जनतालाई सेवामा सहज र सरल गराउन आगामी चैत १ गतेदेखि अनलाइन सेवा सुरु गरिने जानकारी दिँदै उहाँले सहरलाई सुन्दर र दुर्घटनामुक्त बनाउन ट्राफिक व्यवस्थापनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री घिमिरेले ट्राफिक प्रहरीले सङ्कलन गरेको राजस्व प्रदेशमै खर्च गर्ने व्यवस्था मिलाउने प्रयास भइरहेको भन्दै ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीका मागलाई सम्बोधन गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने तथा यहाँ नगरे कहाँ गर्ने उक्तिले काम गर्ने हौसला प्रदान गर्ने भन्दै कोसीदेखि मेची र रानीदेखि सुनसरीको तरहरासम्मको राजमार्गमा सिसी क्यामेरा जडान गर्न रकम निकासा भइसकेको जानकारी दिनुभयो ।

यातायात व्यवस्था तथा सञ्चार सचिव जयकुमार घिमिरले ट्राफिक व्यवस्थापनमा देखिएका समस्या निराकरण गर्न मन्त्रालयले जिम्मेवार भएर काम गरिरहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले एकातिर सडक विस्तार र अर्को तिर साँधुरो सडकमा बढ्दो सवारी चापले ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ भन्नुभयो ।

उहाँले सडक सुशासन र सडक सुरक्षा भरपर्दो भएमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने भन्दै ट्राफिकले सङ्कलन गरेको राजस्व नागरिक सुरक्षामै खर्च गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले विराटनगर क्षेत्रको ट्राफिक समस्या समाधानका लागि पार्किङ गर्ने जग्गाको व्यवस्था गरिने बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख चन्द्र खड्काले मोरङमा जम्मा ११४ ट्राफिक प्रहरीमध्ये विराटनगर क्षेत्रमा ६४ जना कार्यरत रहेको भन्दै सडक दुर्घटना कम गर्न र ट्राफिक व्यवस्थापनमा जनशक्ति कम रहेको जानकारी दिनुभयो ।

उहाँले गएको वर्षमा रु चार करोड २० लाख र चालू आर्थिक वर्षको अहिलेसम्म रु दुई करोड ७१ लाख राजस्व सङ्कलन गरिसकेको जानकारी दिँदै जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवन जीर्ण रहेको, सवारी साधनको कमी रहेको, मापसे जाँच गर्ने उपकरण एकमात्र रहेको, रफ्तार जाँच गर्ने उपकरण नभएको जस्ता समस्या अवगत गराउनुभएको थियो ।

सम्बन्धित खवर