फागुन २८ देखी घरघरमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

फागुन २८ देखी घरघरमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधी फागुन २८ गतेदेखी सबै वडा खुवाइने भएको छ ।

नगरपालिकाले आइतबार नगरमा पत्रकारहरुसँगको अन्तरक्र्रिया गर्दै हात्तीपाइले रोग विरुद्ध औषधी सबै वडामा खुवाइने जानकारी गराएको हो । कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई र उपप्रमुख यमुना बिष्ट बास्तोलाले सम्पूर्ण नगरबासीलाई औषधी खान अनुरोध गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख राईले हरेकलाई औषधी खान प्रोत्साहनको साथ प्रचार गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । उपप्रमुख यमुना बिष्ट बास्तोलाले हात्तीपाइले विरुद्धको औषधी खुवाउन कर्मचारीहरु पनि जिम्मेवारी पूर्बक लाग्नुपर्ने बताइन् । हरेक नगरबासीलाई औषधी खुवाउन जनप्रतिनिधिहरु लागि पर्ने र सञ्चारकर्मीहरुले प्रचार प्रचारमा लाग्न उपप्रमुख बास्तोलाले आग्रह गरिन् ।

हात्तीपाइले धागो जस्तो परजीवि लामखुट्टेको माध्यमबाट सर्ने रोग हो । यो परजीवि मानिसको शरिरमा २० बर्षसम्म बाँच्न सक्ने र यो रोग लागेमा खुट्ट तथा पुरुषको अण्डा कोष सुन्निले लगायतको लक्षण देखा पर्ने नगरका स्वास्थ्यकर्मी जगत मगरले बताए ।

यो रोग उन्मुलनको लागि नेपालमा सन २००३ मा पर्सा जिल्लाबाट औषधी सेवनको कार्य सुरु गरिएको थियो । मोरङमा २०१२ देखि निरन्तर औषधी खुवाइदै आएको छ । नेपालमा २०३० सम्ममा हात्तीपाइले उन्मुलनको योजना रहेको छ । गत बर्ष सुनवर्षीको डाइनिया र जहदा गाउँपालिकामा गरिएको सर्वेक्षणबाट मोरङमा २९ प्रतिशत जनसंख्याले औषधी नखाएको भेटिएको छ । राष्ट्रिय हात्तिपाइले रोग सम्बन्धी संस्थाले स्याम्पलको लागि डाइनिया र जहदा गाउँपालिकामा सर्वेक्षण गरेका थिए । ६० प्रतिशतले डरले औषधि नखाएको, ११ प्रतिशतले औषधीबारेमा जानकारी नपाएको र ८ प्रतिशत स्वास्थ्यकर्मीहरु घरघरमा खुवाउन नगएको सर्वेक्षणले देखाएको छ ।

पथरीशनिश्चरे नगरमा गत बर्ष ५० हजार ३ सय १९ लाई औषधी खुवाइएको नगरको स्वास्थ्यकर्मी जगत मगरले बताए । यद्यपि पथरीमा ३ जनामा हात्तीपाइलेको लक्षण देखिएको मगरको भनाइ छ । यो बर्ष ६५ हजार ४९ लाई औषधी खुवाउने लक्ष्य रहेको मगरले जानकारी दिए ।

औषधी ७ दिन भित्रको सुत्केरी, २ बर्ष मुनिका बालबालिका, छारेरोग भएका बिरामी, अस्पताल भर्ना भएका सिकिस्त बिरामीहरु बाहेक अन्यले खान मिल्ने रहेको छ । वडा वडामा पुगेर हप्तादिनसम्म औषधी खुवाइने र बाँकी रहेकाहरुलाई समय थप गरेर पनि खुवाउने नगर अस्पतालले जनाएको छ ।

सम्बन्धित खवर