पथरी, मोरङको पथरी शनिश्चरे भोली (फागुन १९) देखि सुरु हुने पथरी प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ ।
हालसम्म ९५ प्रतिशत तयारी पुरा भएको लिग अध्यक्ष संजिव गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार भोली बिहानसम्म सबै तयारी सकिने छ । उद्घाटन कार्यक्रमका लागि भव्य तयारी भइरहेको छ । खेलको उद्घाटन पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले गर्ने तयारी रहेको छ ।
उद्घाटन खेलमा बि एण्ड बि वाइ.जि.एफ.टी र शिखर एफ.सी. प्रतिस्पर्धा गर्दैछन् । ‘बि एण्ड बि’ वाइजीएफटीका अध्यक्ष नवीन ढकालले शिखरलाई पहिलो खेलमै हराउने गरि तयारी गरेको बताए । आफ्नो टिममा सञ्जय राई, साइन राई, निमन लिम्बू, रुपेश श्रेष्ठ जस्ता खेलाडी रहेकोले शिखर एफसीलाई मंहगो पर्ने उनले बताए ।
यता शिखर एफसीका मेनेजर रंजित कार्कीले साइमन लिम्बू, अर्जुन बस्नेत, निरज परियार (काउली), समिर कटुबाल जस्ता नेपालकै ‘बी’ डिभिजनका स्टार खेलाडीहरुले भरिने भएकोहुँदा वाइजीएफटीको सपना चकनाचुर हुने दाबी गरे ।
खेलको अघिल्लो दिन प्रस्ताबित पथरी रंगलशालामा भेटिएका न्यु स्टार एफसीका अध्यक्ष बिरोज मगर, सिरिजंङ्गा एफसीका मौसम लिम्बू, द रियल ब्रदर्शका अध्यक्ष सञ्जोग राई, देबिगञ्ज एफसीका मदन राई लगायतले यो पटक निक्कै मिहिनेत गरेर मैदानमा खेलाडी उतार्न लागेको बताए ।
पहिलो सिजनको फस्ट रनर द रियल ब्रदर्श एफसीले यो पटक पाँच वटा अभ्यास खेल खेलेर तयारी पुरा भएको अध्यक्ष सञ्जोग राईले बताए । यो पटक तिर्थराज बस्नेत, बिशाल पाण्डे, सेनेहाङ्ग लिम्बू जस्ता स्टार खेलाडी मैदानमा उत्रिने राईले बताए । यो पटक च्याम्पियन बन्ने लक्ष्यको साथ तयारी भएको उनको भनाइ छ । पहिलो सिजनमा टेन नवोदयले प्रथम ट्रफी उचालेको थियो । यो सिजनमा पथरीशनिश्चरेको सात र भुटानी शरणार्थी शिविरको एक गरी आठ वटा टिम लिग भिड्दैछ ।
खेल मैदान चिटिक्क
भोली बिहिबारबाट सुरु हुने पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको लागि प्रस्तावित पथरी रंगशाला आयोजकले सजाएर चिटिक्क बनाएको छ । अतिथिहरुको स्वागतको लागि पथरीको जाँते मोडमा गेट निर्माण भएको छ भने खेल मैदान सजाएर चिटिक्क पारिएको हो ।
प्रिमियर लिग खेलाडीलाई सहज होस भन्ने उदेश्यले पानी टंकीबाट पानी छिर्किन्दै मैदानमा रोलर लगाएर तयार गरिएको लिग आयोजक समितिको उपाध्यक्ष बिक्की राईले बताए । मैदानमा नेपालको झण्डा, लिगमा सहभागि आठवटा टिम, आयोजक समिति र टाइटल स्पन्सर इन्ट्राको लागो अंकित झण्डाहरु फहराइएको छ ।
गत बर्षदेखि सुरु भएको लिग खेलकुद क्षेत्रमा नगरपालिकाकै गौरवको कार्यक्रम हो । दोस्रो संस्करन लिग फागुन १९ मा सुरु भएर चैत्र ५ समापन हुनेछ ।
उपाधि उठाउने क्लवलाई २ लाख ५१ हजार र दोस्रो हुने टिमलाई १ लाख ५१ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रहरु प्रदान गरिने लिग आयोजक समितिको संयोजक संजिव गिरीले बताए । अनुशासित टिमलाई १५ र सर्वोत्कृष्ट खेलाडीलाई १२ हजार पाँच सय प्रदान गरिने आयोजक समितिको सचिव मनि लिम्बूले बताए ।