अमरदह ढल्के जोवन गोल्डकपमा रुपन्देही अघिल्लो चरणमा

अमरदह ढल्के जोवन गोल्डकपमा रुपन्देही अघिल्लो चरणमा

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपमा रुपन्देही अघिल्लो चरणमा प्रवेश गरेको छ ।

मंगलबार (आज) भएको खेलमा आयोजक अमरदह ढल्के जोवन फुटबल क्लवलाई ४–२ गोल अन्तरले पराजित गर्दै बुद्धभूमी फुटबल क्लव रुपन्देही, क्वाटर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट १÷१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

 

खेल सुरु भएको दोस्रो मिनेटमा नै रुपन्देहीका टंक लामाले उत्कृष्ट गोल गरे । पहिलो हाफमा १–० को अन्तरले पछाडी रहेको आयोजकले खेलको ४७ औँ मिनेटमा पाएको पेनाल्टी शुटको मौकालाई सदुपयोग गर्दै खेललाई बराबरीमा ल्यायो । बुद्धभूमीका रक्षापंत्तीका खेलाडीले डिएरियामा फल गरेपछि पाएको पेनाल्टी शुटको अवसरलाई आयोजक टिमका भोला सिलवालले गोल गरेपछि खेल बराबरीमा आएको हो ।
निर्धारित समय १÷१ गोलको बराबरीमा सकिएपछि खेल टाइबे्रकरतर्फ गएको हो ।
गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाउने क्रममा टाइ–बे्रकरमा बुद्धभुमि, रुपन्देहीका विमल, यामु राना, कमल गुरुङ र दुर्गा बहादुरको प्रहारले जाली चुमेको थियो भने आयोजकका तर्फबाट भोला सिलवाल, चन्द्र बस्नेत र कर्ण लिम्बूले गोल गरेपनि श्यामबाबु र देवान राई गोल गर्नबाट चुकेपछि आयोजकले हार टार्न सकेन । श्यामबाबुको प्रहार गोलपोस्टबाट बाहिरिएको थियो भने देवान राईको प्रहारलाई विपक्षी टिमका गोल रक्षकले सहजै विफल बनाएका थिए ।

आजको खेलको मेन अफ द म्याच विजेता टिमका गोल रक्षक राकेश गुरुङ घोषित भए । गुरुङले नगद ५ हजार रुपैयाँ साथमा ट्रफि प्राप्त गरे ।
भोलीको खेल त्रिभूवन आर्मी क्लब काठमाण्डौं र विराट मेगा स्पोट्स एकेडेमी मोरङविच हुनेछ । भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले २ लाग ११ हजार शिल्ड, पदक र प्रमाण पत्र पाउने छन् ।

सम्बन्धित खवर