सुन्दरहरैँचामा अनलाइन मार्फत कर तिर्न सकिने

सुन्दरहरैँचामा अनलाइन मार्फत कर तिर्न सकिने

बिराटचौक, मोरङको सुन्दरहरैँचा नगरपालिकाले अनलाइन मार्फत राजश्व भुक्तानी शुरु गरेको छ । नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो सम्पत्ति कर अनलाइन मार्फत भुक्तानी गर्दै नगरपालिकाले अनलाइन राजस्व भुक्तानीको सुरुवात गरे ।

सुन्दरहरैचा नगरपालिका नगरप्रमुख ढकालले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्धित वडा कार्यालय पुग्नु नपर्ने बताए। विद्युतीय भुक्तानी शुरु भएपछि नगरपालिकाका स्थानीय करदाताहरुले घरमा नै बसेर अनलाइन मार्फत राजश्व भुक्तानी गर्न सक्ने नगरप्रमुख ढकालले बताए ।

अनलाइन भुक्तानी शुरु भएपछि राजश्व भुक्तानीमा सेवाग्राहीको सहभागिता र राजश्वको दायरा वृद्धि हुने विश्वास लिइएको ढकालको भनाइ छ।

विद्युतीय भुक्तानीबारे करदातालाई नगरपालिकाले आवश्यक शिक्षा दिने प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले बताए ।

सोमबारदेखि अनलाइन प्रणाली शुरु भएपछि सबै करदाताले विद्युतीय प्रणालीमार्फत झण्झट विनै राजस्व भुक्तानी गर्न सक्ने भट्टराईको भनाइ छ। विद्युतीय भुक्तानीको माध्यम इसेवाबाट नगरपालिकाको कर भुक्तानी गर्न सकिने भट्टराईले बताए ।

नगरपालिकाले विद्युतीय भुक्तानीका लागि इसेवासँग सम्झौता गरेर काम अगाडि बढाएको नगरपालिकाका राजश्व शाखा प्रमुख बाबुराम भट्टराईले बताए। अन्य अनलाइन भुक्तानी गर्ने सेवा प्रदायकसँग पनि सम्झौता गरेर भुक्तानी व्यवस्थालाई सहज बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको भट्टराईको भनाइ छ ।

यसको प्राविधिक सहयोग सांग्रीला इन्फरमेटिक्स प्रा.लि. काठमाडौले गरेको छ । करदाताले कर तिर्न इ–पोर्टलमा विवरण भरेर दर्ता गराएपछि इसेवा डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोबाइलबाटै कर भुक्तानी गर्न सकिने सांग्रीला इन्फरमेटिक्सका सिनियर सपोर्ट अफिसर दिवस लामिछानेले बताए । यो प्रणालीबाट राजस्व अनलाइनबाटै भुक्तानी गर्न र आफूले तिरेको शुल्कको रसिद अनलाइनबाटै प्राप्त गर्न सकिने लामिछानेले बताए ।

सम्बन्धित खवर