मेचीको आयोजनामा प्रदेश १ स्तरीय कार्यशाला सम्पन्न, ९ बुदेँ प्रतिवद्धता पत्र जारी

मेचीको आयोजनामा प्रदेश १ स्तरीय कार्यशाला सम्पन्न, ९ बुदेँ प्रतिवद्धता पत्र जारी

भीमराज अधिकारी, पथरी
झापा दमकमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रजत महोत्सवको अवसरमा प्रदेश १ स्तरीय कार्यशाला सम्पन्न गरेको छ ।

दमकमा माघ ७ र ८ गते २ दिन चलेको कार्यशालाले ९ बुँदे प्रतिवद्धता पत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ । कार्यशालामा प्रदेश १ का मोरङ, झापा, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम लगायतका ८ वटा जिल्लाका ३ सय सहभागीहरु रहेका थिए । मोरङ र झापाका प्रारम्भिक सहकारीका प्रतिनिधि र अन्य जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधिहरु सहभागी थिए ।

कार्यशालामा ‘नेपालका विद्यमान सहकारी कानुन र कार्यान्वयनमा चुनौतीहरु’ शीर्षकमा बलराम निरौलाले कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रदेश १ का निवर्तमान सहकारी रजिष्ट्रार तथा हाल बागमती प्रदेश भूमि व्यवस्था, गरिवी निवारण तथा सहकारी मन्त्रालयमा प्रमुख रहेका निरौलाले कानुनी रुपमा भएका व्यवस्थाको चर्चा गर्नुभयो ।

कार्यशालाको पहिलो दिन नै राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङले ‘सहकारीको वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । विश्वका अरु देशमा सहकारीको अवस्था र नेपालमा हाल गरिरहेको सहकारीहरुको अवस्थाका बारेमा यो शेसनमा चर्चा भएको थियो ।

यस्तै दोस्रो दिन नेफ्स्कुनका पूर्व अध्यक्ष केशव प्रसाद पोख्रेलले ‘सहकारीमा जोखिम विश्लेषण र व्यवस्थापनका उपायहरु’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभयो । जोखिमलाई कम गर्नका लागि अरु देशमा अपनाइने उपाय र नेपालले हाल जोखिम बहनका लागि गरिरहेका प्रयासहरुका बारेमा यस सत्रमा छलफल गरिएको थियो ।

सोही कार्यक्रममा ‘सहकारीमा प्रविधिको प्रयोग र नव प्रवद्र्धन’ शीर्षकमा पूर्व अर्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभयो । विश्वले प्रविधिमा मारेको फड्को, अवका प्राविधिक चुनौती र अव अपनाउन सकिने प्रविधिको विषयमा पाण्डेले चर्चा गर्नुभयो ।

कार्यक्रमलाई पूर्व सहकारी मन्त्री केशव प्रसाद बढाल, पूर्व राज्य मत्री दिपक प्रकाश बास्कोटा, राष्ट्रिय सहकारी संघका अध्यक्ष मिनराज कँडेल, नेप्स्कुन अध्यक्ष प्रत्युस पौडेल, सहकारी बैंक तथा नेफ्स्कुनका के.बि. उप्रेती, साना किसान केन्द्रिय सहकारी संघका खेम पाठक, राष्ट्रिय सहकारी कहासंघकी वरिष्ट उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी अभियान्ताहरु शिव बहादुर डाँगी, रामचन्द्र उप्रेती लगायतले सम्वोधन गरे ।

कार्यक्रमको अन्त्यमा गणेश ढकाल, डिल्ली पोख्रेल, अमृता सुब्बा लगायतले तयार पारेको ९ बुँदे घोषणा पत्र÷प्रतिवद्धता पत्र जारी गरेको छ । सो पत्रमा वर्तमान नीति र नीयमअनुसार सहकारी सञ्चालन गर्ने, ऐनमा भएका बाधक व्यवस्थालाई संसोधन गर्न पहल गर्ने, सहकारीको मर्मअनुसारका कामहरु गर्ने लगायतका बुँदाहरु समेटिएका छन् । सो प्रतिवद्धता पत्र राष्ट्रिय स्तरमा समेत छलफलको विषय बनाउनका लागि पहल गर्ने वक्ताहरु प्रतिवद्धता जाहेर गरेका छन् ।

राष्ट्रिय स्तरमा भइरहेको सहकारी आन्दोलनलाई टेवा पुग्नेगरि दमकमा सहकारीका दिग्गज मान्छेहरुको जमघट गराउन सफल भएकाले कार्यक्रम पूर्ण रुपमा सफल भएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताउनुभयो । मेचीले हाल झापा र मोरङमा गरि १२ वटा सेवा कार्यालय मार्फत सेवा दिइरहेको छ । ३ अर्व ४० करोड हाराहरी पूँजी रहेको मेचीले गौरवको आयोजनाका रुपमा दमक ४ ताराबारीमा मेची आवास योजना समेत सञ्चालन गरिरहेको छ । २०७९ साउन २९ भित्रमा हस्तान्तरण गर्नेगरि आवास योजनामा ५६ वटा घरहरु निर्माण भइरहेका छन् ।

सम्बन्धित खवर