साझा स्वास्थ्य सेवा भवनको मुख्यमन्त्री भट्टद्वारा शिलान्यास

साझा स्वास्थ्य सेवा भवनको मुख्यमन्त्री भट्टद्वारा शिलान्यास

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा साझा स्वास्थ्य सेवा भवनको शिलान्यास गर्नुभएको छ । सो अवसरमा उहाँले काममा ढिलासुस्ती, गुणस्तरहीन कार्य स्वीकार्य नहुने भन्दै सम्झौता बमोजिम निर्धारित समयमा काम गर्न निर्देशन दिनुभयो ।

सम्झौता विपरीत कार्य गरिएको पाइए कानुनअनुसार सजायको भागी हुनुपर्नेतर्फ सचेत गराउँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले थालेका विकास निर्माणका कार्यमाथि नजिकबाट निगरानी भइरहेको बताउनुभयो । प्रदेशस्तरका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उहाँले भन्नुभयो, “जनतालाई राहत हुने गरी सेवा प्रवाह गरिनुपर्छ ।”

त्यस अवसरमा पूर्व राज्यमन्त्री प्रकासबहादुर रावलले जनताको सेवालाई मध्यनजर गर्दै सेवा प्रवाह गरिनुपर्ने बताउनुभयो । प्रदेशसभाका सदस्य महेशदत्त जोशीले प्रदेश सरकारले सञ्चालन गरेका योजनामा जनताको पक्षमा भएकाले त्यस कार्यलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

साझा स्वास्थ्य सेवाका महाप्रबन्धक भरतप्रसाद ढकालले भवन निर्माणका लागि रु ३२ लाखमा ठेक्का सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि नागार्जुन निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको छ । यसैबीच, मुख्यमन्त्री भट्टले नेपाली सेनाले निर्माण गरिरहेको भीमदत्त नगरपालिका–१८ सालघारीमा होल्डिङ सेन्टरको अनुगमन गर्नुभएको छ ।

सम्बन्धित खवर