पथरी, मोरङको पथरीशनिश्चरे–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आफ्नै आमाको हत्याको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।
९० वर्षीया आफ्नी आमा जगमाया श्रेष्ठको हत्याको आरोपमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । जगमाया माघ १२ गते राती देखि घरैबाट एक्कासी हराएकी थिइन्। हराएको भनिएकी बृद्धाको हत्या पछि प्रमाण नष्ट गर्नका लागि पथरीशनिश्चरेको हरियाली सामुदायिक वनमा रहेको समाधिस्थल घाटमा कमलले एक्लै शव ल्याएर जलाएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले बताए । स्थानीयको सूचनाको आधारमा शुक्ष्म अनुसन्धान पछि इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले सोमबार श्रेष्ठलाई पक्राउ गरेको इप्रका पथरी प्रमुख कृष्ण खड्काले बताए ।
आमा हराएको भन्दै कमलका दाइले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए । पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा र भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रींमतीको नाममा बनाएका थिए । उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात उनिहरुले अदालतमा मुद्धा समेत गरेका थिए ।
अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला सुनाएपछि आक्रोस बनेका श्रेष्ठले रिसको आवेगमा आमाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी खड्काले बताए ।