रेडस्टार माविलाई अन्तराष्ट्रिय विद्यालय अवार्ड

रेडस्टार माविलाई अन्तराष्ट्रिय विद्यालय अवार्ड

मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित रेडस्टार माध्यमिक विद्यालयले अन्तराष्ट्रिय विद्यालय अवार्ड (आइएसए अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले रेडस्टार माविलाई उक्त अवार्ड प्रदान गरेको हो । उक्त अवार्ड प्राप्त गर्ने रेडस्टार जिल्लाकै एकमात्र विद्यालय हो ।
सामुदायिक र संस्थागत विद्यालयमा शिक्षण सिकाइलाई प्रभावकारी र रोचक बनाउने अभिप्रायले विद्यालयले सञ्चालन गरेका कार्यक्रमले उक्त अवार्ड प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक टिएन तिम्सिनाले जानकारी दिए । प्रधानाध्यापक तिम्सिनाका अनुसार विद्यालयले आठवटा परियोजना गरेको थियो । ‘सन् २०२०/२१ का लागि विभिन्न आठवटा परियोजना गरेर काउन्सिलमा प्रस्ताव पेश गरेका थियौँ, विद्यालयले पेश गरेको प्रस्ताव छनोट भएर प्राप्त अवार्डले विद्यालयको गौरव बढाएको छ’, तिम्सिनाले भने । अवार्ड प्राप्तीले विद्यालय अब अन्तराष्ट्रिय स्तरको शिक्षा दिन योग्य रहेको र रेडस्टालाई शैक्षिक हब बनाउने आफूहरुको लक्ष्यमा एक खुड्किलो अघि बढेको तिम्सिनाले बताए ।


विद्यालयभित्र स्थानीय पाठ्यक्रममा आधारित रहेर विभिन्न क्रियाकलाप सञ्चालन गरिएको थियो । त्यस्तै सामुदायिक र संस्थागत विद्यालयसँग मिलेर शिक्षण सिकाइ, विदेशी विद्यालयसँग पनि सम्बन्ध राखेर त्यहाँको विद्यार्थी र रेडस्टारका विद्यार्थीबीच शिक्षण सिकाइ आदान-प्रदान गरिएको विद्यालयका शिक्षक तथा आइएसए विद्यालय कोअर्डिनेटर राजु तिम्सिनाले बताए । रेडस्टारले भारतको केहि विद्यालयसँग पनि सहकार्य गरेर काम गरेको थियो । दुवै देशको स्थानीय भाषा, रहनसहन, वन, वन पैदावार लगायतको विषयमा विद्यार्थीबीच अनुभव आदानप्रदान गरिएको आइएसए विद्यालय कोअर्डिनेटर तिम्सिनाले बताए ।

रेडस्टार माविले महिला सशक्तिकरण, शारीरिक रुपमा फरकपन भएका व्यक्तिहरुको अवस्था, भोगाई, जिवनशैली, सफलताका कथा, पर्यावरणमैत्री सामाग्री निर्माण लगायतका विषयमा परियोजना पेश गरेको थियो ।

वि.सं २०५२ मा स्थापना भएको यस रेडस्टारमा हाल कक्षा ११-१२ मा व्यवस्थापन संकाय संचालनरत छ र निकट भविष्यमा माथिल्लो तहका कक्षाहरु संचालनको तयारी रहेको विद्यालयका संचालक सदस्य विजय डाँगीले बताए ।

अन्तराष्ट्रिय विद्यालय अवार्डले विद्यालयमा अन्तर्राष्ट्रिय आयाम समावेश गर्ने राम्रो अभ्यासलाई मान्यता दिँदै आएको छ । सन् २०१२ यता नेपालका ४९३ विद्यालयले यस अवार्डका लागि भाग लिएकामा १४६ विद्यालयले अवार्ड प्राप्त गरेको छ । कनेक्टिङ् क्लासरुमको अवधारणमा शिक्षणसिकाइमा जोड दिदै आएको काउन्सिलले यो अवार्ड परियोजनात्मक शिक्षण-सिकाइ गर्ने उत्कृष्ट विद्यालयहलाई प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर