पथरी, मोरङको पथरी शनिश्चरे ८ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
वडा कार्यालयको बजेटमा २ स्थानमा सम्पन्न शिविरमा ७ हजार ८ सय ४० को मेडिकल उपचार, २ सय १४ को माइनर सर्जिकल उपचार र ८४ को गाइनोक्लोजिकल गरी ८ हजार १ सय ३८ पशुको उपचार भएको छ । जसमा, १ हजार ४८ गाई भैंसी, १ हजार ८ सय २९ बाख्रा, ९ सय ८८ बंगुर, ४ हजार १ सय ८४ कुखुरा र ८९ वटा हाँस रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितको उपस्थितीमा शिविर सम्पन्न भएको हो ।
पुस २ गते वडा नम्बर ७ ले निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । त्यस्तै, नगरपालिकाको कार्यक्रमका रुपमा वडा नम्बर ३ र १० पनि यसखाले शिविर हुनेछ ।
यस्तै, मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आजबाट व्यवसाय सचेतना तथा व्यवसाय सुरु र लैंगिक तथा सामाजिक समावेशी सम्बन्धी ७ दिने तालिम सुरु भएको छ ।
नगरपालिकाले आयोजना गरेको तालिममा नगर प्रमुख दिलीपकुमार राईले नगरवासीलाई उद्यमी बनाउनका लागि सरकारको सहयोगमा नगरले कार्यक्रमिक पहल गरिरहेको बताउँदै आफ्नो क्षेत्रको सम्भावना खोजेर उद्यमी वन्न सुझाव दिनुभयो ।
नगरको घरेलु तथा साना उद्योग विकास शाखा प्रमुख हेमचन्द्र दहालले पनि मन्तव्य व्यक्त गर्नुभयो ।
३० जना सहभागिका लागि वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले तालिमको सहजिकरण गर्नुभएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे नगरपालिकाका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि यो वर्ष वडा नम्बर ४, ८ र ९ मा कार्यक्रम सञ्चालन भएको छ । अघिल्लो वर्ष वडा नम्बर १, २ र ३ मा कार्यक्रम सञ्चालन भएको थियो ।
यस्तै, मोरङको पथरी शनिश्चरे नगरका वडा बाल सञ्जालका प्रतिनिधिहरुलाई सहभागि गराई बालअधिकार अभिमुखिकरण कार्यक्रम हिजोबाट सुरु भएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले बालअधिकारका लागि नगर प्रतिवद्ध रहेको बताउनु भयो ।
लुथरन विश्व फेडेरेशनको सहयोगमा नगरपालिका कार्यालयको आयोजनामा भूटानी शरणार्थी बालबालिका समेत सहभागि गराइएको कार्यक्रममा, नगरका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेले पनि मन्तव्य व्यक्त गर्नुभयो । लुथरन विश्व फेडेरेशनका लिलबहादुर कार्की, भूटानी शरणार्थी शिविर पथरी शनिश्चरेका सचिव चम्पासिंह राई सहितले भूटानी शरणार्थी बालबालिकाको समेत अधिकारलाई जोडेर नगरले सधैं मानवीय सहयोग पुर्याइरहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
अभिमुखिकरणमा राष्ट्रिय बाल अधिकार परिषदका प्रतिनिधिले सहजिकरण गरेका छन् । कार्यक्रमको समापनसँगै नगर बाल सञ्जाल गठन समेत गर्ने कार्यक्रम रहेको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनु भयो ।