मोरङ / नेपाली काँग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बु नै दोहोरिएका छन् । संस्थापन इत्तर समूहमा शेखर कोइराला निकटलिम्बुले संस्थापन पक्षका दिलीप गच्छदारलाई पराजित पुनः सभापति बन्न सफल भएका हुन् । १३ औं महाधिवेशनमा लिम्बु शेरबहादुर देउवा समूहबाट मोरङ सभापतिमा निर्वाचित भएका थिए । उनी पछिल्लो समय कोइराला पक्षमा छिरेर उक्त खेमाबाट पुनः निर्वाचित भएका छन् ।
लिम्बुले १ हजार ९ सय ६ मत ल्याएका थिए गच्छदारले १ हजार ४ सय २५ मत ल्याएको निर्वाचन अधिकृत केदार कार्कीले बताए । पहिलो चरणको निर्वाचनमा सभापतिका तीन जना उम्मेदवार कसैले पनि ५० प्रतिशत मत नकटाएपछि पहिलो र दोस्रो हुने लिम्बु र गच्छदारबीच मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनमा तेस्रो भएका यदुकुमार विष्टले दोस्रो भएका गच्छदारलाई समर्थन गरेका थिए । तर लिम्बुले ४ सय ८१ मतान्तरले गच्छदारलाई हराए । सभापतिको टुंगो लागेपछि अन्य पदाधिकारीको मतगणना बुधबार बिहानदेखि सुरु भएको निर्वाचन अधिकृत कार्कीले बताए ।
उपसभापतिमा लिम्बु समूहबाट नागेश कोइराला र भक्तिनाथ माझी थारु, गच्छदार समूहबाट गोपालबहादुर थापा र सुवोध सिंहसहित राजु मास्के प्रतिस्पर्धी छन् । त्यसैगरी सचिवमा लिम्बु खेमाबाट मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ, गच्छदार खेमाबाट अर्जुन निरौला र शिवप्रसाद ढकालसहित मनोज बस्नेत, ज्ञानेन्द्र ढकाल र रविन राई प्रतिस्पर्धामा छन् ।