पथरी, नेपाल रेडक्रस सोसाइटी (नेरेसो) हसन्दहको १४ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि अनुमानित लागत तथा वार्षिक कार्यक्रमको योजना समेत सार्वजनिक गरेको छ ।
नेरेसो हसन्दहले गत आर्थिक वर्षमा वडा कार्यालय, आजिवन सदस्यता शूल्क लगायत विभिन्न क्षेत्रबाट ४५ हजार ७२५ रुपैया आम्दानी गरेको छ । यसैगरी रक्तदान कार्यक्रम, समवेदना खर्च, गोष्ठी, साधारणसभा खर्च लगायतका शीर्षकमा ४५ हजार ७२५ रुपैँया नै खर्च गरेको छ । संस्थाले गत वर्षदेखि नै निरन्तर रहेको मौज्दातलाई निरन्तरता दिएको छ । अघिल्लो वर्ष ८२ हजार ३२६ रुपैया बैंक मौज्दात रहेकामा यस संस्थाले ८३ हजार ७०६ रुपैंया मौज्दात राखेको छ ।
संस्थामा थुप्रै कार्यक्रमहरु गर्नुपर्ने तर आर्थिक अभावका कारण भनेको समयमा त्यस्ता कार्यक्रमहरु गर्न नसकिरहेको अध्यक्ष भोलानाथ घिमिरेले बताउनुभयो । वडाले दिने थोरै सहयोगबाट संस्था चलाउनुपर्दा कठिन अवस्था भएको, नेरेसो हसन्दहको आफ्नो कुनै भवन नभएकाले भाडामा बस्नुपर्ने समस्या रहेको घिमिरेले बताउनुभयो ।
कार्यक्रमा वडा नं. ५ अध्यक्ष जोग बहादुर धिमालले प्रमुख अतिथि र विशिष्ट अतिथिका रुपमा वडा नं. ६ का अध्यक्ष जय बहादुर तामाङ लगायतले सम्बोधन गर्नुभएको थियो । धिमालले वडाका तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेरेसो हसन्दहलाई विभिन्न समयमा सहयोग पु¥याउनुहुने व्याक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।