प्रदेशसभा सदस्य नरेश भण्डारीले गत असोज ३१ देखि परेको अविरल वर्षाका कारण यही कात्तिक २ गते जुम्लामा आएको बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ ।
उहाँले भेरी तथा गिरी खोलामा आएको बाढीले तिला गाउँपालिका–४ जुम्लाको साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँ र तातोपानी गाउँपालिका ४ को गिरीखोला, नियापानी, ठाँटा, हाँकु गाउँ, ७ र ८ नं वडाको सर्मी, सुर्की, ताम्ती, बारागाउँ, बैतडी र टोप्लाको धानबाली, खेतीयोग्य जमिन, सडक, पुल, स्याउ बगैँचा, विद्युत् गृह, खानेपानी, स्थानीय घट्टलगायतमा पु¥याएको क्षतिको अवलोकन गर्नुभएको हो ।
जाजरकोट जोड्ने सडकको सीमा क्षेत्रसम्म स्थलगत अनुगमन गर्नुभएका पूर्व मन्त्री भण्डारीले टोप्ला गाउँ अन्धकार भएकाले तत्काल जेनेरेटरको व्यवस्था गर्ने र अन्य गाउँका लागि राष्ट्रिय प्रसारण लाइन जोड्न नेपाल विद्युत् प्राधिकरणसँग पहल गर्ने जानकारी दिनुभयो ।
अवलोकनका क्रममा उहाँले बाढी पीडितलाई राहत उपलब्ध गराउनुको साथै दीर्घकालीन समस्या समाधानका लागि यसअघि नै कर्णाली प्रदेश सरकारलाई मागपत्रसहित ध्यानाकर्षण गरिएको जनाउनुभयो । सडक, विद्युत्, घर, खेतीयोग्य जमिनको कटान, बालीनाली, विद्युत् नष्ट भएकाले राहत तथा पुनःस्थापना र पुनःनिर्माणको विशेष प्याकेज कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ थियो ।
तातोपानी–८ का धनबहादुर शाहीले आफ्नो दुःखमा अभिभावक बन्दिन जनप्रतिनिधि तथा सरकारलाई आग्रह गर्नुभएको थियो । यसअघि कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले पनि बाढी प्रभावित क्षेत्रको अवलोकन गरेर आधारभुत आवश्यकता पूरा गर्न मन्त्रालय मातहतका जिल्ला कार्यालयलाई निर्देशन दिनुभएको थियो ।
पूर्वमन्त्री भण्डारीले बुधबारै तातोपानीको रु एक करोड, प्रदेश सरकारअन्तर्गत आफ्नै सांसद विकास कोषको रु ४५ लाखमा निर्माणाधीन तातोपानी सिंजा गाउँपालिका जोड्ने थारमारे बिलौरी कृषि ग्रामीण सडकको समेत अनुगमन गर्नुभयो । तातोपानी–५ लाम्रा श्रीनगर, बयालकाटिय गाउँ हुँदै मध्य सिंजाको जोडु भाडगाउँ जोड्ने १५ किलोमिटर सडक निर्माण मध्ये ४०० मिटर मात्र बाँकी रहेको उक्त गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सडक निर्माण भएमा सिंजालीवासीलाई करिब २० किमी दूरी कम हुनेछ ।