सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका इचोकबाट काठमाडौ जाँदै गरेको बा ४ ख ५८१५नम्बरको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हेलम्बु गाँउपालिका ३, पाल्चोककी ५५ वर्षीया पासाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका नायव प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
घटनामा अन्य ५ जना घाइते भएका छन् । हेलम्बु ६ का अर्जुन तामाङ, पासाङ दोर्जे तामाङ, साजन तामाङ, जङ्बु तामाङ र हेलम्बु ७ का आयुष पण्डित घाइते भएका हुन् ।
घाइतेहरूलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकि हेलम्बुका सहायक निरिक्षक सुनिल थापाले बताए ।
उकालोमा गाडि उक्लन नसकी ब्याक भएपछि यात्रुहरु बसबाट हाम फालेका थिए । हाम फाल्ने क्रममा केही घाइते र मृत्युु समेत भएको प्रहरीले जनाएको छ । उनिहरु कसैलाई पनि बसले भने नच्यापेको प्रहरीको प्रारम्भिक आँकलन रहेको छ ।
बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । बसमा ३२ जना यात्रु सवार थिए ।