अलपत्र बालकको उद्धार गरी खोजतलास केन्द्रमा पठाइयो

अलपत्र बालकको उद्धार गरी खोजतलास केन्द्रमा पठाइयो

पथरी, मोरङको पथरी शनिश्चरे नगरले आफ्नो नगरमा अलपत्र अवस्थामा फेला परेका एक बालकलाई उद्धार गरी बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाएको छ ।

स्थानीय समाजसेवी किसान राई सहितका युवाले पथरी बजार क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेका १० वर्षीय दलित बालकलाई नगरपालिका कार्यालयमा सम्पर्क गराएका थिए । त्यसपछि उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा बालकलाई आज बालबालिका खोजतलास केन्द्र विराटनगरमा पठाइएको छ ।

झापाको विर्तामोड घर बताउने बालकले आफ्ना बुबाले विष सेवन गरेर आत्महत्या गरेको र आमा समेत नभएपछि गाडी चढेर आउँदा पथरी आइपुगेको सुनाउनु भएको छ । पथरी क्षेत्रमा बालकका कोहि आफन्त खोजी गर्दा पत्ता नलागेपछि नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहितका कर्मचारीले बालकलाई बालबालिका खोजतलास केन्द्रमा पुर्याउनु भएको छ । यस अघि पनि उपप्रमुखको पहलमा बेसहरा बनेका बालबालिका र सडकापेक्षी मानवहरुको उद्धार गरी संरक्षण गृहमा पठाउने काम भएको थियो ।

सम्बन्धित खवर