पथरी, चिस्यान केन्द्रको असावधानीले मोरङको पथरी शनिश्चरे १ मा अवस्थित पथरी कृषि सहकारी संस्थाले राखेको ३ हजार ३ सय किलो आलुको विउ कुहिएर नष्ट भएपछि नगरपालिका कार्यालयले आज अनुगमन गरेको छ ।
पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा आलुको अनुगमन् गरी उचित क्षतिपूति सहित विमाको लागि पहल गरिने भएको छ ।
संस्थामा आवद्ध कृषकहरुबाट उत्पादन गरी सहकारीमार्फत झापाको दमकस्थित शान्ति कोल्ड सेन्टरमा भण्डारण गरि राखिएको थियो । तर कृषकले आलु रोप्ने समय हुन लागेपछि विउ फिर्ता ल्याउन खोज्दा राखिएको सवै ६६ बोरा आलु कुहिएको पाइएको सहकारीका अध्यक्ष हरिराज प्याकुरेलले जनाउनु भयो । नियमित चिसोपना गराउने मेसिनमा आएको समस्याका कारण आलु कुहिन पुगेको चिस्यान केन्द्रले जनाएको उहाँले बताउनु भयो । प्रति गोटा २० रुपैयाँ दरले किनेर पीवीएस आलुबाट उत्पादित मुल विउ कुहिदा ३ लाख ३० हजार रुपैयाँ बढीको क्षति भएको छ । जसका कारण रोप्ने समयमा विउ नपाएर कृषकहरुमा समस्या आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । हाल १ सय रुपैयाँ प्रति केजी पर्ने आलुको चिस्यान केन्द्रले प्रति केजी ५० का दरले मात्र विमा गराएको वताउनु भयो ।
सो चिस्यान केन्द्रमा अन्य कृषकहरुले राखेको आलुको विउ पनि कुहिएको छ । आलु रोप्ने समयमा बीउ लिन जाँदा सबै बीउ कुहिएको पाइएको भन्दै कृषकहरुले गुनसो गर्ने गरेका छन् ।