बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष
रासस / गलकोट बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उहाँको दैनिकीको काम र व्यस्ततालाई आकलन गर्ने हो भने लामो सूची नै तयार हुन्छ ।

बिहान ५ः०० बजे उठेर गाई, भैँसीको स्याहारसुसार, दूध दोएर खोलापारि सहकारीको सङ्कलन केन्द्रमा पठाउने । घरमा पालिएका माछा, टर्की तथा हाँसलाई दानापानी हालेर उहाँ सोझै घाँस काट्न भिरमा पुग्नुहुन्छ । घर नजिकैको खरबारीबाट घाँसको भारीसहित घरमा आउनुभएका सापकोटालाई खाना खाने समय व्यवस्थापन गर्नसमेत हम्मेहम्मे पर्छ ।

अठचालीस वर्षीय सापकोटालाई कृषिमा आउन बुवाको प्रेरणा र परिवारको साथ छ । खाना खाएपछि उहाँ टनेलमा तरकारीको स्याहारसुसारमा लाग्नुहुन्छ । उहाँले दैनिकरूपमा उत्पादन भएका माछा, तरकारी, दूधलगायत कृषि उपज सहकारीको दूध सङ्कलन गर्न पुगेको सवारीमा बागलुङ बजार पुग्नुहुन्छ । सामान्यतया कृषकले तरकारी खेतीमात्रै अथवा पशुपालनमात्रै गर्दै आए पनि उहाँले कृषि उपजमा बहुआयामिक हिसाबले काम गर्नुभएको छ ।

तीस वर्षदेखि कृषि पेशामा सक्रिय उहाँले कृषिका अनेक पाटामा अनुभव सँगाल्नुभएको छ । उहाँको कालीगण्डकी पशुपालन तथा कृषि फार्म नौ रोपनी क्षेत्रफलमा फैलिएको छ । उहाँको फार्ममा अहिले १५० टर्की, ६० हाँस, पोखरीमा १० हजार माछा, पाँच गाई, दूई भैँसी र आठ प्लाष्टिक टनेलमा तरकारी छ ।

“सानैदेखि कृषिमा लगाव थियो, वैदेशिक रोजगारीमा ध्यान गएन, बुवाले गरेको परम्परागत कृषिखेतीलाई विस्तारै आधुनिकतामा ढाले, प्रविधियुक्त कृषि प्रणाली अपनाउँदै आएँ”, कृषक सापकोटाले भन्नुभयो, “ विसं २०७२ देखि यसलाई कृषि तथा पशुपक्षी फार्मका रूपमा विकास गरेँ, अहिले वार्षिक रु १४/१५ लाखको कृषि उपजलाई बजारीकरण गर्दै आएको छु, कारोबारको ४० प्रतिशत खुद नाफा हुन्छ होला, जे होस् सन्तुष्टि छ, परिवारको यसमा ठूलो साथ छ ।”

फार्म सञ्चालनका लागि साढे तीन रोपनी जग्गा आफ्नै छ । अन्य जग्गा वार्षिक रु ८० हजार भाडा तिरेर कृषि गर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले टनेल बाहेकको पाँच रोपनी जग्गामा काउली बन्दाका बिरुवा लगाउनुभएको छ । गत असार र साउनमा मात्रै रु डेढ लाखको गोलभेँडा बिक्री गरेको उहाँले बताउनुभयो । बाह्रै महिना मौसमी, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्दै आएको उहाँको भनाइ छ । “अहिले मसँग दुई हाइटेक टनेल र अन्य फलामे टनेल छन्, त्यसमा थोपा सिँचाइ र मल्चिङ प्रविधिको प्रयोग छ”, उहाँले भन्नुभयो, “आधुनिक प्रविधिसँगै कृषि उत्पादनमा वृद्धि भएको उहाँको अनुभव छ ।”

उहाँले एक जनालाई रोजगारी दिनुभएको छ भने श्रीमती चित्रकुमारी र छोरा सागरले सघाउँदै आउनुभएको छ । धवलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गरिरहनुभएका सागरले क्याम्पसको अध्ययन समयपछि कृषि फार्मलाई समय दिने गरेको बताउनुभयो । सापकोटा परिवारले सहकारीमार्फत दूध बिक्री मात्रै गर्नुहुन्न । अन्य किसानलाई समेत दूध उत्पादनमा प्रेरित गर्दै सङ्गम दुग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्वसमेत गर्दै आउनुभएको छ । सहकारीले अहिले दैनिक २०० लिटर दूध बजार पठाउने गरेको छ ।

सापकोटाले अहिले ३० लिटर दूध दैनिक बजार पठाउने गरेको बताउनुभयो । तीन वर्षअघिदेखि पाल्न थालेको टर्की, हाँस तथा माछाले पनि उत्पादन दिइराखेका छन् । फार्मबाट माछा प्रतिकिलो रु ४००, टर्कीको तयारी मासु रु एक हजार र हाँस जिउँदो प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको छ ।

सम्बन्धित खवर