नारायणहिटी दरबार संग्रहालयमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोज्दा एकजना पक्राउ परेका छन् । दरबारमा प्रदर्शनमा राखिएको श्रीपेच चोर्ने प्रयास भएको हो ।
दरबार संग्रहालयमा अवलकोनमा लागि गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीजेच चोर्न खोजेपछि डिउटीमा रहेको नेपाली सेनाले घर्तीलाई नियन्त्रणमा लिएको छ ।
‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ, घर्तीले हातले प्रहार गर्दा बुलेट प्रुफ बाहिर रहेको सिसाको आवरण भने फुटेको छ । त्यसपछि उनले कोठाभित्र सोकेसमा राखिएको खुकुरी झिकेर श्रीपेच निकाल्न प्रयास गरेको देखिन्छ’ संग्राहलय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’
टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।