प्रदेश १ मै पहिलो कृषि एप ‘जिओकृषि एप’ बनायो पथरी शनिश्चरेले

प्रदेश १ मै पहिलो कृषि एप ‘जिओकृषि एप’ बनायो पथरी शनिश्चरेले

पथरी, अनलाइनमार्फत कृषिका समस्या र त्यसको समाधानका बारेमा जानकारी दिन मोरङको पथरी शनिश्चरेमा १ नम्बर प्रदेशकै पहिलो ‘जिओकृषि एप’ सुरु भएको छ ।

जिओकृषिको प्राविधिक सहयोगमा अष्ट्रेलियन एड, अष्ट्रेलियन लुथरन वल्र्ड सर्भिस, द लुथरन वल्र्ड फेडेरेशनको सहकार्य तथा पथरीशनिश्चरे नगरपालिकाको व्यस्थापनमा लुथरन सामुदायिक कल्याण समाजले आज नगरमा जिओकृषिको कार्यालय उद्घाटन् गरेको छ । नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा, लुथरन सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेन, हेफर इन्टरनेशनल मार्फतको अभियान नेपालका हेम श्रेष्ठ सहितको सहभागितामा कार्यालय उद्घाटन् भएको हो । पछिल्लो समयमा हेफर इन्टरनेशनलमार्फत अभियान नेपाल पनि जिओकृषि एप सञ्चालन तथा व्यवस्थापनको साझेदार बनेको छ । नगर प्रमुख राईले नगरमा विज्ञान प्रविधिसँग जोडिएर कृषिको क्षेत्रमा केहि गर्न खोजिएको वताउनु भयो ।

कृषकहरु घरमै बसेर बाली लगाउने तथा पशुपालनको तरिका, त्यसमा देखिएका समस्या, रोगको बारेमा जानकारी गराई त्यसको समस्या समाधान एवम् उपचारका बारेमा एपमार्फत जानकारी पाउने छन् । समस्याको समाधानको उपाय नगरका कृषि तथा पशु प्राविधिकले बताउने छन् । आवश्यक परे विज्ञहरुसँग पनि जानकारी लिएर जवाफ दिइने छ ।

नगरमा लुथरनले नमूनाका रुपमा केहि कृषक समूहसँग अघिल्लो वर्षबाट एपमा जोड्ने काम थालेको थियो । जस अन्तर्गत समूहमा गई इन्ड्रोइड मोवाइल र नेट उपलब्ध भएका सदस्यलाई एप चलाउने जानकारी गराउँदै एप रजिष्ट्रेशन गराउन सुरु गरेको थियो । हालसम्म नगरका १ सय ६८ जना एपमा दर्ता भएका छन । अव प्रत्येक समूहका २,२ जनालाई समूहमा गएर एप चलाउन सिकाउनेगरिको टट तालिम प्रदान गर्ने योजना छ ।

पथरी शनिश्चरेमा लुथरनले १६ हजार र अभियान नेपालले ५ सय कृषकलाई एपमा जोड्ने लक्ष्य बनाएको छ । झापा र मोरङका ५ पालिकामा कृषि र पशुको कार्यक्रम सञ्चालन गर्ने क्रममा अभियान नेपालको पनि पहिलो पटक पथरी शनिश्चरेमा जिओकृषि एप सुरुवात भएको छ । सुरुको समयमा सो एपमा कृषि सम्बन्धि मात्र जानकारी समावेश गरिएको थियो । हाल आएर कुखुरा र गाईको जानकारी थपिएको छ । अव चाँडै बंगुरको पनि थपिने समाजका अध्यक्ष जोसेफ सोरेनले उल्लेख गरे । कृषकले ‘जिओकृषि फार्म’, संस्था तथा सहकारीले ‘जिओकृषि एक्सटेन्सन’ र प्राविधिकहरुले ‘जिओकृषि इन्टरप्राइजेज’ नामक एप सञ्चालन गर्नुपर्ने उल्लेख छ । कार्यालय उद्घाटनका अवसरमा संस्थाले कार्यालयका लागि ल्यापटप, प्रिन्टर, फर्निचर सहित २ लाख ५६ हजार बराबरको आवश्यक सामगी प्रदान गरेको छ । पथरी शनिश्चरेका १० वटा वडामध्ये वडा नम्बर १ बाहेकका ९ वटा वडा कृषिमा आधारित छन् ।

सम्बन्धित खवर