बँदेल मार्न थपिएको विद्युतीय पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
बर्दियामा बँदेल मार्नका लागि थपिएको विद्युतीय पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती २९ वर्षीय सुनिता थारु र भाउजु ४३ वर्षीय बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।
गएराति करिब १० बजे एक जनालाई करेन्टले हानेपछि बचाउने क्रममा अन्य दुईको समेत ज्यान गएको प्रहरीको भनाइ छ ।
पासो थापेको आरोपमा स्थानीय ८३ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । बँदेल मार्नका लागि धान खेतमा थापेको विद्युतीय पासोबाट करेन्ट लागेर एक जनाको ज्यान गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका शाही आफैँले जानकारी गराएको प्रहरीको भनाइ छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरीगाउँ बर्दियाका प्रहरी निरीक्षक कविराज रोकायाले बताएका छन् । धानबालीमा जङ्गली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुईवटा हात्ती र एक जना युवाको ज्यान गइसकेको छ ।