गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

रासस / बागलुङ तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा जानुभयो । त्यहाँ उहाँसहित सपरिवार एकैठाउँ भएर दर खाए, रमाए । भोलिपल्ट बिहान बेँसीको घर फर्कँदा भने उहाँ झस्कनुभयो । अघिल्लो दिन ठिकठाक छाडेको घरमा चोरले बितण्डा मच्चाएको दृश्य एकाएक आँखाअघि आयो ।

घरमा कोही नभएको मौका छोपेर चोरले ढोका, दराजका ताला र सुटकेस फोरेर नगदसहित गरगहना लुटेका थिए । साँझ ७ बजेतिर घरका सबै ढोका बन्द गरी बाहिर बिजुली बालेर आफू अर्को घर गएको बोहोराले बताउनुभयो । उहाँको घरबाट करिब आठ तोला बराबरका सुनका गरगहना र एक लाख ४० हजार नगद चोरी भएको थियो । सुनको बेरुवा औँठी, हार, मङ्गलसूत्र, सादा औँठी, तिलहरी र झुम्का चोरले लगेको उहाँको भनाइ छ ।

चोरले रड प्रयोग गरी चाबी फोरेको पाइएको छ । अनुसन्धानका क्रममा उक्त रड चोरी भएको कोठामै फेला परेको प्रहरीले जनाएको छ । योसँगै एक वर्षयता गलकोटमा चोरीका दर्जनौँ घटना भएका छन् । गत असोजमा वडा नं २ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर सम्पत्ति लुटेको घटनाले धेरैलाई झस्कायो । हतियारधारी जथ्थाले ६५ वर्षीया गोरबहादुर भण्डारी र उहाँकी श्रीमतीलाई धाकधम्की देखाएर नौ तोला सुन र नगद रु ६५ हजार लुटेका थिए ।

छ जनाको लुटेरा समूहले आफूहरु प्रहरी भएको र खानतलासी गर्न आएको भन्दै भण्डारीको घरमा लुट मच्चाएका थिए । हातखुट्टा बाँधेर चोरी गरिएकाले दम्पतीले हारगुहार गर्नसमेत नपाएको स्थानीयवासी बताउँछन् । भोलिपल्ट बिहान मात्र छिमेकीले घटनाबारे थाहा पाएका थिए । गत माघको पहिलो हप्तामात्रै गलकोटका विभिन्न वडा र बस्तीका १८ घरमा चोरी भयो । नगरप्रमुख भरत शर्मा गैरेको वडा नं २ स्थित घरलाई समेत चोरले निशाना बनाए । उहाँको घरबाट रु १० हजार नगद र गरगहना लुटिएको थियो । माघ ३ गतेको रात उक्त वडाका आधा दर्जन घरमा चोरीका घटना भए । त्यसको भोलिपल्ट वडा नं ५ को गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडसहित आठ घरमा चोरी र तोडफोड भयो । जबकि उक्त सहकारी प्रहरी कार्यालयदेखि ३०० मिटरको दूरीमा पर्छ ।

सटरको ताला फोडेर सहकारीभित्र पस्न खोजेको तर नसकेपछि लुटेरा त्यहाँबाट भागेको दृश्य सिसी क्यामेरामा समेत कैद भएको थियो । गत जेठ २९ गते वडा नं ६ चरौँदीका लालबहादुर खत्रीको घर तोडफोड गरी नगद र गरगहना लुटियो । घरमा कोही नभएको मौका हेरी लुटेराले एक तोला सुनको मङ्गलसूत्र, झुम्का, आइफोन मोबाइल र नगदसमेत गरी रु चार लाखको धनमाल चोरेका थिए ।

उक्त घटनामा संलग्न रहेको आशङ्कामा स्थानीय केही व्यक्ति पक्राउ त परे तर दुई दिनमै छुटे । प्रहरीले सामान्य सोधपुछपछि उनीहरुको संलग्नता नदेखिएकाले छाडिएको जवाफ दियो । हरेकजसो घटनामा अनुसन्धान जारी रहेको बनिबनाउन जवाफ प्रहरीबाट आउने गरेको छ ।

नरेठाँटीका ज्येष्ठ दम्पतीको घरमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरिए पनि मुद्दाको टुङ्गो लागेको छैन । उक्त घटनामा छ जना संलग्न रहेकामा अन्य पाँच अझै अनुसन्धानको दायरामा आउन सकेका छैनन् । अन्य घटनामा पनि प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ । कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन । पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

नगरप्रमुख भरत शर्मा गरैले लगातारजसो चोरीका घटना हुँदा पनि दोषी पत्ता लाग्न नसक्नु दुर्भाग्य भएको बताउनुभयो । “कि त प्रहरीको अनुसन्धान प्रक्रियामै त्रुटि छ, कि प्रहरीले घटनाप्रति चासो दिएकै छैन”, उहाँले भन्नुभयो । कतिपय घटनाका प्रकृति हेर्दा पेशेवर लुटेरा सक्रिय भएको देखिएकाले सुरक्षामा गम्भीर चिन्ता थपिएको नगरप्रमुख गैरेले बताउनुभयो । कानुनतः स्थानीय तहले प्रहरी र प्रशासनका एकाइलाई आपराधिक घटनाका सम्बन्धमा अनुरोध र समन्वयबाहेक केही गर्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

“जिल्ला प्रशासन कार्यालय र प्रहरीमा गलकोटको समस्यालाई गम्भीररूपले उठाएको छु, तर खास सुनुवाइ र चासो लिएको देखिएको छैन”, नगरप्रमुख गैरेले गुनासो गर्नुभयो । दोषीलाई कानुनी कठघरामा ल्याउन नसके चोरीका घटनालाई निरुत्साहित गर्न नसकिने उहाँको भनाइ छ ।

हटिया प्रहरी चौकीका प्रहरी नायब निरीक्षक बाबुराम पुरीले गत बुधबार राति वडा नं ३ बेँसीमा भएको घटनामा शङ्कास्पद देखिएका व्यक्तिलाई कार्यालयमा झिकाइ सोधपुछ गर्ने भइरहेको बताउनुभयो । “दोषी पत्ता लागेको छैन, अनुसन्धान जारी छ”, उहाँले भन्नुभयो । प्रनानि पुरीले प्रहरीको प्रत्यक्ष पहुँच नभएका ग्रामीण भेगमा चोरीका घटना बढी भइरहेको जानकारीदिनुभयो ।

उहाँले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शङ्कास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई सुझाउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले गलकोटमा भइरहेका चोरीका घटनालाई संवेदनशीलरूपमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो । “घरमा कोही नभएका बेला पारेर हुने चोरीका घटनामा अनुसन्धान जटिल हुने गर्छ, समय लागे पनि दोषी पत्ता लाग्छ”, उहाँले भन्नुभयो ।

मास्क, मुकुण्डो, पञ्जा लगाउने हुनाले लुटेरा उम्कन सफल हुने गरेको उहाँको भनाइ छ । “बन्दाबन्दी र निषेधाज्ञामा सबै जना घरमै बस्ने भएकाले चोरी हुन्थेन, अहिले निषेधाज्ञा हट्यो फेरि घटना दोहोरिन थालेका छन्”, प्रउ पल्ली मगरले भन्नुभयो ।

सम्बन्धित खवर