अध्यक्ष पदका प्रत्यासी धनकुमार तामाङको यस्तो छ इतिहास

अध्यक्ष पदका प्रत्यासी धनकुमार तामाङको यस्तो छ इतिहास

पथरी, माेरङकाे पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभा गर्ने तयारी तिब्र भइरहेको छ । भाद्र २८ गते हुने चुनावी सभाका लागि २ वटा टिमले उम्मेद्वारी घोषणा गरेका छन् । एक कार्यकाल अध्यक्ष पद समहाली सकेका पथरीका स्थापित व्यावसायी धनकुमार तामाङको नेतृत्वमा साझा समुह र निर्वतमान कार्यसमिति अध्यक्षको नेतृत्वमा अर्को समुह रहेको छ ।

तामाङ नेतृत्वमा रहेको साझा समुहका उम्मेद्वारहरुले आफ्नो चुनावी प्रचार प्रसार तिब्र पारेका छन् । यस पटक तामाङ नेतृत्वको प्यानल नै उद्योग वाणिज्य संघमा निर्वाचित हुने स्थानीय व्यावसायीहरुले बताइरहेका छन् । पथरी उद्योग वाणिज्य संघको निर्वाचनलाई मध्यनजर गरेर हामीले एउटा सामग्री तयार पारेका छौँ ः

साविक मोरङको राजघाटमा जन्मिएका धनकुमार तामाङ ८ वर्षको उमेर देखि पथरी बजारमा बस्दै आएका स्थानीय व्यावसायी हुन् । सामान्य अध्ययन गरेका तामाङले २०५६ सालदेखि नै पथरीमा पसल व्यावसाय सुरु गरे । कस्मेटिक्स, रेडिमेट कपडा पसल, कोल्डस्टोर लगायतका पसल तमाङका सुरुवाती व्यावसाए थिए । प्रतिक्षा कस्मेटिक्स पसल अहिले पनि पथरीमा तामाङले सञ्चालन गरिरहेका छन् । यति मात्रै हैन् तामाङले थ्री स्टार होटल पनि ३ वर्षसम्म सञ्चालन गरे ।

तामाङले २०४९ सालबाट मोरङ बस यातायात संघको सदस्य, सह–सचिव हुदै २०६४ सालदेखि हालसम्म पनि अध्यक्ष पदमा रहेर सेवा गरिरहेका छन् । मोरङ बस यतिबेला पूर्वी मोरङ यातायात प्रा.लि. को नामबाट सञ्चालित छ । सामाजिक रुपमा अग्रणी भूमिका खेल्ने तामाङले २०५० सालमा क्षितिज एकता मञ्चको गठन गरी एक कार्यकाल अध्यक्ष पदमा रहेर सेवा गरे । क्षितिज एकता मञ्चले पथरीमा रहेका छाडा चौपायहरु नियन्त्रण गर्ने, पथरी आसपासमा रहेको फोहोरको डङ्गुरलाई व्यवस्थापन गर्ने र सुन्दर सफा पथरी बनाउने काममा मुख्य भूमिका खेल्यो, जस्को नेतृत्व तामाङले गरेका थिए ।

तामाङको अध्यक्षतामा बिशाल बचत तथा ऋण सहकारी संस्था पनि सञ्चालनमा रहेको छ । पथरी स्पोर्टिङले आयोजना गरेको, पथरीको शानको रुपमा हेरिएको पथरी गोल्डकप २०७० र २०७१ पनि तामाङको नेतृत्वमा सम्पन्न भएको थियो । त्यसपछि हालसम्म पनि पथरी गोल्डकपको आयोजना हुन सकेको छैन् । २०५१ सालमा नै पथरीमा पहिलो पटक तामाङको नेतृत्वमा महिला फुटबल खेल सम्पन्न गरेका थिए । तामाङ २०७१ सालमा पथरी उद्योग वाणिज्य संघमा अध्यक्ष पदमा निर्वाचित भए र करिब ३ वर्ष ६ महिना संघको नेतृत्व समाले ।
तामाङले निर्वाचित भएपछि मोरङ व्यापार संघमा मात्रै दर्ता भएको पथरी उद्योग वाणिज्य संघलाई जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गराएर कानुनी मान्यता प्राप्त संस्था बनाए ।

– अव्यवस्थित रुपमा रहेको भवनको व्यवस्थापन गरी अफिसका लागि चाहिने आवश्यक फर्निचर तथा सोफा सेटहरु व्यवस्थापन गरे ।
– अस्त व्यस्त रहेको फोहोरलाई व्यवस्थापन गर्न तत्कालिन कार्यकारी अधिकृत महेन्द्र ख्यामयाङसंगको सहकार्यमा फोहोरको उचित व्यवस्थापन गर्ने व्यवस्था मिलाए ।

– राजनैतिक खिचातानी र दैनिकजसो बन्द हड्ताल भइरहेको अवस्थामा पथरीलाई बन्द मुक्त शहर बनाउन पहल गरे ।

– दैनिक रुपमा हुने चन्दा आतङ्क रोक्न मुख्य भूमिका खेले ।

– पथरी बजारलाई सुरक्षित बनाउनका लागि ३ स्थानमा ६ वटा सिसि क्यामेरा जडान गरे ।
– दुर्घटनामा परेका स्थानीय व्यावसायीहरुको लागि न्याय माग्न इलाका प्रशासन र सम्बन्धित निकायमा दिनहुँजसो धाइरहे ।

वाणिज्य संघको नयाँ भवन निर्माणका गर्न हनुमान चौकमा १२ धुर जग्गा २४ लाखमा खरिदका लागि ३ लाख रुपैँया बैना समेत गरेको थियो । पछि बस्नेत नेतृत्वको समितिले सो जग्गा छाडेर नयाँ स्थानमा जग्गा खरिद गरेर भवन निर्माण थालेको छ । वाणिज्य संघको सर्वाधिक चर्चामा रहेको पथरीकी फेन्सी पसल सञ्चालक रिना बस्नेत मृत्यु प्रकरणमा वाणिज्य संघ चुइक्क बोलेन, त्यतिबेला अहिले अध्यक्ष पद ताकिरहेका दिपक बस्नेत अध्यक्ष थिए तर तामाङ सहितका युवाहरुले निरन्तर आवाज उठाए ।

अब आसन्न निर्वाचनमा आफ्नो प्यानलले जिते निम्न अनुसारका काम गर्ने योजना साझा प्यानलको रहेको छ ः
– साँझ पर्नासाथ बन्द हुँदै आएको पथरी बजार सुरक्षा प्रत्याभूति सहित राति ८ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउने ।
– सडक बत्तीहरुको जडान गरी उज्यालो पथरी बनाउन पहल गर्ने ।
– बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने ।
– सेल (बिशेस छुट सहितको) बजार लगाउन पहल गर्ने ।
– पुराना योजनालाई निरन्तरता दिदै नयाँ योजना अघि सार्ने ।
– नयाँ प्रविधिका बारेमा व्यावसायीलाई तालिम दिएर घरबाटै कर तिर्ने व्यवस्था मिलाउने ।
– सरसफाई तथा फोहोर व्यवस्थापनमा पालिकाहरुसंग समन्वय गर्ने ।
– व्यावसायीको हितमा काम गर्ने ।
– घर बहालको समस्या हल गर्ने ।
– पर्यापर्यटनलाई अझै व्यवस्थित गरी पथरीको व्यापारमा बृद्धि गर्ने ।
– साना व्यावसायीको हितका लागि सदैव सहयोगी भूमिका खेल्ने ।
– मुख्य सडकहरु (पथरी–ज्यामिरे, पथरी–डायनीया) सुधार गरेर बजार प्रवद्र्धन गर्न समन्वय गर्ने ।

स्थानीय व्यावसायीहरुलाई पिरमर्का परेका बेला सधैं साथ सहयोग गरिरहने धनकुमार कार्यसमितिमा नरहँदा पनि उत्तिकै सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । साना देखि ठुला उद्योगी व्यावसायीका मन मनमा बस्न सफल तामाङ अहिले १८ औँ चुनावी सभामा आफ्नो अध्यक्ष पदका लागि भोट मागिरहेका छन् । तामाङ नेतृत्वको साझा प्यानलको नारा नै ‘‘पुराना योजनाको निरन्तरता, नयाँ योजनालाई प्राथमिकता’’ रहेको छ । पथरी, शनिश्चरे, हसन्दह लगायतका अधिकांश व्यावसायीहरुले तामाङको नेतृत्वमा रहेको प्यानलले नै निर्वाचन जित्ने आंकलन गरिरहेका छन् ।

सम्बन्धित खवर