काठमाडौं, काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ३५ करोड रुपैयाँको लागतमा आठ तल्ले अत्याधुनिक नयाँ भवन बनाउने भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ मा रहेको सो अस्पतालले हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा अत्याधुनिक आठ तल्ले भवन बनाउन लागेको हो । अस्पतालका संस्थापकको नाममा ‘माउ बद्रि’ भवन निर्मार्ण गर्न लागेको हो ।
आज आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिका मेयर विद्या सुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले संयुक्त रुपमा सिलान्यास गरेका छन् । सिलान्यास कार्यक्रममा आयोजित समारोहलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिका मेयर शाक्यले क्षत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे । मेयर शाक्यले भने, ‘यहाँ वडा अध्यक्षज्युहरु, उपमेयरज्यु, र छौं, फेरि पनि जितेर आउने हामी मध्येबाटै कोही हुन्छ, त्यसैले जनताको सेवा गर्ने क्षत्रपाटी चिकित्सालयले रकम अभावमा काम गर्न पाइन भनेर गुनासो गर्ने ठाउँ दिन्नौं ।’
मेयर शाक्यले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने वित्तिकै प्रतिफल आउने नभई वर्षौपछि प्रतिफल आउने हुँदा जनताको सेवामा समर्पित अस्पतालको लागि काठमाडौंबासीले तिरेको कर, जनतालाई फिर्ता गरेका हौं ।’ मेयर शाक्यले जनताको सेवामा समर्पित र राम्रो काम हुने ठाउँमा रकम अभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । मेयर शाक्यले अस्पतालले बिरामीको सेवामा विशेष ध्यान दिनुपर्ने बताए । अस्पतालमा आएका बिरामीहरुले नराम्रो रहेछ भन्दै फर्कनु पर्ने अवस्था आउन नदिन व्यवस्थापन, कर्मचारी र चिकित्सकहरुलाई सुझाव दिएका छन् ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले क्षत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंभित्रका कोर सिटीका जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताईन् । मेयर खड्गीले भनिन्, ‘काठमाडौंमा फोहोरको समस्या छ, खानेपानीको समस्या छ, त्यसैले स्वास्थ्य संस्थाको धेरै नै महत्व छ ।’ उपमेयर खड्गीले शहरी क्षेत्रभित्र राम्रो सेवा दिने स्वास्थ्य संस्थाको रुपमा सामुदायिक अस्पतालको संख्या भएको बताईन् ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं १७ का वडा अध्यक्ष नविन मानन्धरले क्षत्रपाटी निःशुल्क चिकित्सालयको संस्थागत र संगठित रुपमा विकास गरेर अघि बढ्नुपर्ने बताए । वडा अध्यक्ष मानन्धरले कोरोना महामारीमा अस्पतालले बिरामीहरुको निःशुल्क उपचार गरेको स्मरण गराउँदै २०१५ सालदेखि उक्त अस्पतालले जनताको सेवामा समर्पित भएर काम गर्दै आएको बताए ।
काठमाडौंमा अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले दाताहरुकै सहयोगमा अस्पतालले अत्याधुनिक विशाल भवन निर्माण गर्ने सपना देखेको बताउँदै सबैलाई सहयोग गर्न आह्वान गरेका छन् । अध्यक्ष श्रेष्ठले काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड रुपैयाँले भवन निर्माण सुरु गर्न सम्भव भएको बताउँदै आगामी दिनमा पनि काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष श्रेष्ठले कोरोना महामारीको समयमा अस्पतालमा केही आर्थिक समस्या परेको भएपनि अहिले महत्वाकांक्षी योजनामा अघि बढेको बताउँदै भवन सम्पन्न भए पश्चात क्षत्रपाटी निःशुल्क चिकित्सालय भौतिक पूर्वाधार र स्वास्थ्य सेवाको गुणस्तर दुवैमा उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप डेड करोड रुपैयाँ सहित निर्माण सुरु गरिएको अस्पताल दाताहरुबाट संकलित सहयोग रकमबाट निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताए ।
क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कूल पुँजिबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालिन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन सिलान्यास गरेर भौतिक पूर्वाधारमा अघि बढेको अस्पतालले हाल दुई वटा अत्याधुनिक भवनमा सम्पूर्ण स्वास्थ्य सेवा प्रवाह गर्दै आइरहेको छ । हुनेसँग शुल्क लिने र नहुनेसँग शुल्क नलिई सेवा गर्ने नीति लिएको क्षत्रपाटी निःशुल्क चिकित्सालयमा मुटु सम्बन्धी अत्याधुनिक उपचार सेवा उपलब्ध छ भने दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट सहित अत्याधुनिक भेन्टिलेटर सुविधा समेत रहेको छ ।



 
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                        



